लन्डन । लन्डनस्थित अन्तर्राष्ट्रिय क्रिकेट ग्राउण्ड ‘द ओभल’मा नेपालीले प्रतियोगिता गर्ने तयारी गरेका छन् । दक्षिण लन्डनको ल्याम्बेथ बरोमा अवस्थित अन्तर्राष्ट्रिय क्रिकेट ग्राउण्डमा आउँदो २०२४ जुनमा माया इभेन्ट्सले ‘टी टेन क्रिकेट प्रतियोगिता’ गर्न लागेको हो ।
ओभललाई सरे काउन्टी क्रिकेट क्लबको घरेलु मैदान मानिन्छ । करिब एक लाख दश हजार पाउन्ड अर्थात एक करोड ८० लाख अनुमानित खर्च लाग्ने आयोजक माया इभेन्ट्स तथा माया सपोर्टेड लिभिङ लि का निर्देशक राज पाण्डेले बताए । उक्त क्रिकेट खेल नेपालीको निजीपहलबाट गरिएको हालसम्मकै सबैभन्दा ठुलो र खर्चिलो प्रतियोगिता हुनेछ ।
नेपाल र विदेशमा रहेका अन्तर्राष्ट्रिय खेलाडी र विदेशी खेलाडी गरी ६ वटा टिम किया ओभल स्टेडियममा खेल्नेछन् । क्रिकेट प्रतियोगितालाई बेलायती प्राविधिकको सहयोगमा नेपालको प्राइम टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्ने तयारी छ । नेपालस्थित द अरफान्स होमको सहयोगार्थ कार्यक्रम गर्न लागिएको पाण्डेले बताए।
नेपाली क्रिकेट खेलाडी र बेलायतबीच सम्बन्ध कायम गरेर नेपाली क्रिकेटलाई थप मजबुत बनाउँदै खेलाडीको मनोबल बढाउने उद्देश्यले ‘टी टेन क्रिकेट प्रतियोगिता’ गर्न लागिएको पाण्डेले बताए । क्रिकेट खेललाई बेलायतमा थप सशक्तीकरण गर्नको लागि आवश्यक सहयोग गर्न बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यसँगको भेटमा आफूले कुरा राखेको उनले बताए ।
पछिल्लो समय नेपाली क्रिकेट खेलले ठुलो फड्को मारेको र यस्ता प्रतियोगिताले खेलको स्तर अझ बढ्ने उनको विश्वास छ । एकजनाको प्रयासले मात्र सम्भव नहुने हुँदा सबै मिलेर यस्ता प्रतियोगिता गर्न सके खेल र खेलाडीको स्तर वृद्धि हुने उनको धारणा छ ।
बेलायतमा आयोजना हुँदै आएका क्रिकेट प्रतियोगिताहरूमा आफ्नो कम्पनीको तर्फबाट प्रायोजन गर्दै आएको र यो वर्ष मात्र खेलकुद र अन्य सामाजिक गतिविधिमा करिब १७ हजार पाउन्ड खर्च गरेको पाण्डेले बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
