सेवामै जीवन बिताउन चाहन्छन् लोकदोहोरी कार्यक्रम ‘इन्द्रेणी’ का संचालक कृष्ण कँडेल

काठमाडौँ । गत चैत्र महिनामा नेपालमा लकडाउन शुरु गरिए पछि खासगरी दैनिक ज्यालादारी गर्ने मजदूरहरु र न्यून आय भएका परिवारहरु भोकै बस्ने स्थिति उत्पन्न भएका समाचारहरु आउन थाले। त्यो देखेर लन्डनस्थित एउटा सामुदायिक संस्था, बर्न्टओक नेपाली समाजका सदस्यहरुले आपसमा मिलेर सहयोग संकलन गरे। उनीहरुले संकलन गरेको रकम अब कसरी, को मार्फत नेपाल पठाउने भन्ने प्रश्न आयो। अधिकांश सदस्यहरुले एक मतले लोकप्रिय टेलिभिजन कार्यक्रम इन्द्रेणीका संचालक कृष्ण कँडेललाई सम्झिए।

“कृष्णजीले संचालन गर्ने इन्द्रेणी कार्यक्रम बेलायतमा बस्ने नेपालीहरु माझ निकै लोकप्रिय छ। फेरि उहाँ मार्फत सहयोग गर्दा सांच्चिकै आवश्यकता परेका व्यक्तिहरुसम्म त्यो सहयोग पुग्छ र दुरुपयोग हुँदैन भन्ने विश्वासका कारण हामीले उठाएको सहयोग उहाँ मार्फत पठाएका हौँ,” बर्न्टओक नेपाली समाजका अध्यक्ष उदय गुरुङले भने । समाजले पठाएको झन्डै ३३०,००० रुपियाँ कँडेल मार्फत नेपालमा सहयोग वितरण भै सकेको छ।

Advertisement

लकडाउनमा व्यस्त सञ्चालक कँडेल

लकडाउनले धेरैलाई फुर्सदिलो बनाएको होला। तर टेलिभिजनको लोकप्रिय लोकदोहोरी कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कँडेललाई भने लकडाउनले पहिलाभन्दा पनि झनै व्यस्त बनायो । उनी ज्यानको बाजी राखेर देशभर राहत वितरणमा खटिए। सातै प्रदेशमा पुगेर कँडेलले लकडाउनसँगै रोजगारी खोसिएका तथा विभिन्न समस्याबाट पीडित नागरिकको घाउमा मलम लगाउँदै आएका छन्।

लकडाउनअघि दीर्घ रोगी, बाढी पहिरो र विभिन्न समस्यामा परेका आम नागरिकलाई सहयोग गर्दै आएका कँडेलले लकडाउनसँगै झन् धेरै नेपालीलाई राहत बाँडेर उनीहरुको मुहारमा खुसी ल्याइदिए।

आफ्नो समाजसेवालाई धर्म, कर्म र सेवा सोच्ने कँडेलले यो लकडाउनमा एक दिन पनि घरमा बिताउन पाएनन्। लकडाउन सुरु हुँदा बिरामी भएका कँडेल आफ्नो स्वास्थ्यको ख्यालै नगरी राहत वितरणमा निस्किए।

उनी भन्छन्, “जन्मेपछि एक दिन मर्नु त छँदै छ। विश्व कोरोनाले आक्रान्त हुँदा मैले किन सहयोग नगर्ने ? मरे मरिन्छ भनेर श्रीमतीलाई सम्झाएर युद्ध मैदानमा होमिएको सिपाही झैँ राहत वितरणमा होमिएको हुँ। यो विपतको समयमा अप्ठ्यारो धेरैलाई परेको छ । यस्तो अवस्थामा उनीहरुको सेवा नगरी बस्न मेरो मनले मानेन। अहिले सहयोग गर्न पाइएन भने अरु बेला गरेको सहयोगले के महत्व राख्ला र ?”

एक महिना आराम गर्न डाक्टरको सल्लाह

लकडाउन सुरु हुनअघि नै बिरामी परेका कँडेल अहिले पनि पूर्ण रुपमा स्वस्थ भइसकेका छैनन्। डाक्टरले उनलाई एक महिना आराम गर्न सुझाव दिएका थिए। त्यही बेला लकडाउनको अप्ठ्यारोमा धेरैले उनलाई फोन गरे, आफ्नो समस्या सुनाए। त्यसपछि उनी डाक्टरको सुझावको अवज्ञा गर्दै सहयोगका लागि निस्किए।

उनी भन्छन्, “लकडाउन भएको एक साता त शान्त नै बसेको थिएँ । तर अरुको दुःख सुनेर म सुतेर बस्न सकिनँ । त्यसैले डाक्टरको सुझावलाई नमानी राहतका लागि निस्किए। लकडाउनमा पनि मैले कार्यक्रम इन्द्रेणीलाई निरन्तरता दिन पाएँ। अहिले पछिल्लो कार्यक्रमका केही भाग लकडाउन विशेष बनेका छन्। कार्यक्रम सञ्चालन गर्दै राहत वितरण गरिरहेको छु।”

इन्द्रेणी कार्यक्रममार्फत अहिले अनाथ आश्रम, बालगृह, कलाकार, बाटोमा अलपत्र नागरिकलगायत सबैलाई सहयोग गर्ने काममा उनी सक्रिय बनेका छन्।

सातै प्रदेशको चक्कर लगाएर गत साता काठमाडौँ फर्किएका कँडेलका आँखा मधुरा छन् । दाँतको समस्याले बोल्न पनि गाह्रो । राहतका लागि काठमाडौँ बाहिर जाने बेलामा बुद्धि बङ्गारो फालेर ५ वटा टाँका लगाएका उनले १९ दिनपछि मात्रै टाँका खोलेका छन्।

कँडेलले भने, “हल्का हल्का पहिलादेखि नै दुख्थ्यो। पछिल्लो समय साह्रै नै भएपछि अस्पताल गएर अप्रेशन गराएँ । डाक्टरले ३ दिनमा काट्नुपर्छ भनेको टाँका १९ दिनमा बल्ल काटियो । यसले बोल्न गाह्रो भएको छ।”

राहतको हिसाब किताब

आएको जति राहत उनले अझै धेरै ठाउँ र धेरै मानिसलाई पुर्याउन बाँकी नै छ। यति खटिँदा पनि कतिले दिने भनेर राखेको सहयोग लिन जान उनले अझै भ्याएका छैनन् भने कतिलाई दिन पनि पाएका छैनन्। कहाँबाट आएको र कति दिएको सधै हिसाब किताब उनीसँग सुरक्षित छ। उनी भन्छन्, “मैले समाजसेवा गर्दै जाँदा कसैले म माथि औँला उठाउन नसकोस भनेर सबै हिसाब किताब सुरक्षित र व्यवस्थित बनाएको छु। विदेशमा पसिना बगाएर नेपालीले गर्नुभएको सहयोगको सही मूल्याङ्कन होओस् भन्ने चाहन्छु।”

कहाँबाट कसले, कति र कसलाई सहयोग गरेको भन्ने कुरा उनले इन्द्रेणी कार्यक्रमबाट पनि घोषणा गर्दै आएका छन्। सहयोग लिने र दिने सबैको नाम कार्यक्रमबाटै भनिदिँदा रकमको दुरुपयोग हुन नपाउने उनी बताउँछन्।

उनी भन्छन्, ‘सानो सहयोग होस् वा ठूलो, सबैको नाम मैले कार्यक्रमबाटै सार्वजनिक गर्ने गरेको छु। धेरै नाम पढ्दा पढ्दै अहिले त मलाई बोल्न पनि गाह्रो भएको छ। त्यसमाथि स्वास्थ्य अवस्था ठिक छैन।’

उनी भन्छन्, “रातदिन सेवामा खटिँदा खटिँदै मेरो कारणवस मृत्यु भइहाल्यो भने पनि नेपालीले पठाएको राहत दुरुपयोग हुन पाउँदैन। यो लकडाउनको बेलाको सबै हिसाब किताब ३ जना व्यक्तिलाई थाहा छ। तीनमध्ये कसैको ज्यान गइहालेपनि बँचेकाले त्यो हिसाब पारदर्शी बनाउने छन् ।”

लकडाउनमा मात्रै साढे ५ करोड राहत वितरण

कोरोना नियन्त्रणका लागि सरकारले गरेको लकडाउनमा मात्रै उनले साढे ५ करोड रुपैयाँ राहत वितरण गरिसकेका छन्। लकडाउनले गर्दा खान नपाएका, रोजगारी गुमाएका, घर भाडा तिर्न नसकेर निकालिएका, ग्यास सकिएर पकाउन नपाएका, बिरामी भएर उपचार गर्न नसकेकालगायत विभिन्न समस्यामा परेका नागरिकलाई कँडेलले सहयोग गर्दै आएका छन्।

उनले राहत बाँड्दा धेरै सोधखोज गरेर मात्रै दिन्छन् ता कि साँच्चिकै समस्यामा परेका व्यक्तिले नै राहत पाओस्। उनी भन्छन्, ‘राहत बाँड्ने नाममा जसलाई पायो उसैलाई दिन पनि त भएन नि । त्यसैले धेरै अनुसन्धान तथा सोधिखोजी गरेर मात्रै दिने गरेको छु। ता कि राहत वास्तविक पीडितको हातमा मात्रै परोस्।’

लकडाउनमा राहत बाँड्दै कँडेल

उनले वितरण गर्ने राहत विदेशमा रहेका नेपाली तथा नेपालमै रहेका विभिन्न व्यक्तिले दिएको स्वेच्छिक सहयोगबाट संकलन गरिएको हो । नेपालमै पनि उनलाई राहतका लागि सहयोग रकम लिन बोलाउनेको संख्या ठूलो छ । उनी भन्छन्, ‘लकडाउनसँगै काठमाडौँमा धेरै सहयोगीहरुले राहत लिन बोलाउनु भएको छ, जान भ्याएको छैन । राहत रकम लिन र दिन म आफैलाई बोलाउनुहुन्छ त्यसैले अलि पुग्न गाह्रो भएको छ। शुक्रबारसम्म सहयोगीहरुले राहत दिन घोषणा गरेको रकम मात्रै झण्डै ५० लाख बढी छ । अब बिस्तारै उठाएर बाँड्छौँ ।’

सैनिक जीवन सम्झँदा गर्व लाग्छ

लोक दोहोरी गायक तथा कार्यक्रम प्रस्तोता कँडेल पूर्व नेपाली सैनिक पनि हुन्। नेपाली सेनामा भर्ना भएलगत्तै उनले रेडियो सैनिक कार्यक्रम सञ्चालन गर्ने अवसर पाएका थिए । १६ वर्ष नेपाली सेनामा कार्यरत भएर सेवानिवृत्त भएकै दिन उनले माउन्टेन टेलिभिजनमा लोक समाचार कार्यक्रम सुरु गरेका थिए। जुन कार्यक्रम देश र विश्वभरका समाचार लोक लयमा पढिन्थ्यो। नेपाली सेनामा रहँदा पनि गीत, संगीतमा कँडेलको सक्रियता उत्तिकै थियो। यतिसम्म कि दिनभरी ड्युटी गरेर उनी रातको समयमा दोहोरी साँझमा गीत गाउन जान्थे ।
उनी भन्छन्, ‘मलाई गीत–संगीत भनेपछि भोक, निद्रा केही पनि लाग्दैन थियो। सेनामा कार्यरत हुँदा पनि दिनभरी ड्युटी सकेर म काठमाडौँस्थित नयाँ बानेश्वरको एक दोहोरी साँझमा गाउन जान्थेँ । मध्यरातपछि फर्किन्थेँ।’

२ पटक शान्ति सेनामा

कला र गलाका धनी कँडेलले सेनामा रहँदा २ पटकसम्म शान्ति सेनामा जाने सौभाग्य पाएका थिए। यस्तो अवसर जो कोहीलाई मिल्दैन। दुई पटक शान्ति सेनामा विदेश पुगेका उनी नेपाली मात्र नभएर मिसनमा खटिएका सबै विदेशी सैनिकमाझ लोकप्रिय बने।

उनी गीत गाउनमा मात्र सिपालु थिएनन्, विदेशीसँग घुलमिल हुँदाहुँदै उनीहरुको भाषा पनि सजिलै सिक्थे। भाषा जानेपछि उनले उनकै भाषामा लोकगीत गाइदिन्थे। उनको कला देखेर विदेशी सैनिक पनि चकित पर्थे। उनले गीत गाउँदै सेनाको काममा पनि सघाउंथे। खुसी भएर उनलाई फोर्स कमाण्डरले समेत अंगालो मार्थे ।

गीत, गजल र कविताबाटै तालिम सञ्चालन

२०२९ सालमा सुर्खेतको पञ्चपुरी नगरपालिका ८ लाटीकाँडामा जन्मिएका कँडेल ३ भाइ र ४ दिदीबहिनीमध्ये माइला हुन्। बाल्यकालदेखि नै लोक गीत तथा लोक संस्कृतिप्रति रुची राख्ने कँडेलले रेडक्रस र स्काउटका तालिम समेत गीत, गजल र कविताबाटै सञ्चालन गर्थे।

स्थानीय नेरा मावि बाबियाचौरमा एसएलसीसम्मको अध्ययनपछि उनी उच्च शिक्षाका लागि काठमाडौँ आए । काठमाडौँको आरआर क्याम्पसमा अध्ययन गर्दैगर्दा २०४८ सालमा नेपाली सेनामा भर्ना भएका कँडेलले उच्च शिक्षालाई निरन्तरता दिन सकेनन्।

उनको पहिलो कार्यक्रम थियो लोकसमाचार । उक्त कार्यक्रममा उनले गीतबाटै समाचार वाचन गर्थे। जुन कार्यक्रम लगातार ३ वर्षसम्म चल्यो । त्यसलगत्तै उनले सप्तरङ्गी इन्द्रेणीमार्फत नेपालको लोक संस्कृतिको संरक्षण संवर्द्धन गर्ने अवसर पाए। अहिले यो कार्यक्रम देश तथा विदेशमा सर्वाधिक लोकप्रिय छ। उनले यही कार्यक्रममार्फत हजारौँ दीन दुःखीका लागि राहत संकलन र वितरण पनि गर्दै आएका छन्।

लोक गायक कृष्ण कँडेलले पछिल्लो समय धेरै सम्मान पनि पाएका छन् । कँडेलले गोरखा दक्षिणबाहु, सुप्रबल प्रसिद्ध जनसेवा श्री पुरस्कार, अन्तरराष्ट्रिय भ्रष्ट्राचार विरोधी पुरस्कारसहित दुई दर्जनबढी पुरस्कारबाट सम्मानित भएका छन् ।

विदेशमा बस्ने नेपाली माझ लोकप्रिय

कँडेलको लोकदोहोरी कार्यक्रम इन्द्रेणी नेपालमा मात्रै हैन विदेशमा बस्ने नेपालीमाझ झनै लोकप्रिय बनेको छ। गाउँघरका लोकभाका र लोकगीतलाई टपक्क टिपेर आधुनिक बाजागाजासँगै प्रस्तुति दिने भएकाले उनको कार्यक्रम विदेशमा झन् लोकप्रिय बनेको छ।

उनी भन्छन्, “मैले कार्यक्रममा नेपालको ठेट मौलिक कला र संस्कृति पस्किने मात्र नभइ दीनदुखीलाई पनि सहयोग गरिरहेको हुन्छु। विदेशमा रहेका नेपालीलाई आफ्नो देशको कला संस्कृतिको माया त पक्कै हुन्छ। उहाँहरुले इन्द्रेणी कार्यक्रममार्फत मौलिक कला, संस्कृति हेर्न पाउनुहुने भएकै कारण पनि विदेशमा मेरो कार्यक्रम लोकप्रिय बनेको छ। विदेशमा बस्ने थुप्रै नेपालीले मेरो कार्यक्रमलाई माया गरिदिनुभएको छ।”

कला र गला मार्फत आफ्नो संस्कृतिको चिनारी दिँदै समाजसेवामा लागेका कँडेल जापान, हङ्कङ, भारत, बहराईन, लेबनान, इजरायल र सिरियाका विभिन्न शहरसहित विश्वका धेरै देशहरु पुगेका छन् ।

जापान जाँदा आफुले उहीँ नयाँ कलाकार उत्पादन गरेको कँडेल बताउँछन् । उनी भन्छन्, “जापान जानका लागि हामीले अप्लाई गर्यौँ । तर हामी धेरैको भीसा लागेन। मलाई जहाँ गएपनि म्युजिकसहितको टिम नभइकन रमाइलो नहुने । मैले जापान जाँदा आफ्नो टिम नभएपनि उहीँ रहेका इच्छुकहरुलाई लिएँ र कार्यक्रम भव्य बन्यो ।” अहिले उनीहरु कामको अलावा गीत, संगीत र वाद्यवादनमा पनि लागेका छन् ।

‘अपाङ्ग, अशक्त, दृष्टिविहीन सबै बस्न मिल्ने बस्ती बनाउँछु’

अहिले चर्चाको शिखरमा रहेका कँडेलले आगामी दिनमा आफ्ना त्यस्ता ठूला कुनै योजना नभएको बताए । “यो बीचमा एकता, संस्कृति र संस्कारको सांस्कृतिक जागरण अभियान छ नि त्यसलाई बढाएर गाउँ गाउँ, बस्ती बस्तीको माया जनतामा जगाएर त्यहीँ उत्पादन गर्ने र आत्मनिर्भर बनाउने छ। समग्रमा दीनदुखी, अपाङ्ग, अशक्त, दृष्टिविहीन उहाँहरुलाई मानव तीर्थस्थल बनाएर राख्नका लागि सरकारसँग सहकार्य गर्ने योजना छ । त्यसका लागि लुम्बिनी जस्तो ठाउँमा तीन चार बिगाहा जग्गा पाइयो भने त्यस्ता क्षेत्रका एकै ठाउँमा व्यवस्थापन गर्न सकिन्छ भन्ने मेरो एउटा भनाई छ । त्यसका लागि मैले अहिले समाज सेवा गरिरहेका धुर्मुस–सुन्तली, भाग्य न्यौपाने लगायतका व्यक्तिहरुलाई एकीकृत गरेर एकैठाउँमा ठूलो बस्ती बनाउने योजना छ । त्यसका लागि लुम्बिनी क्षेत्रमा ठूलो जग्गाको आवश्यकता छ,” कँडेलले भने ।

लोकगीत सुन्दा आफ्नै गाउँमा रहेको, बाबुआमाको काखमा रमाएको भान हुन्छ : डा. गोविन्द आचार्य

विभिन्न कारणले नेपाल छोडेर धेरै नेपालीहरु विदेशमा रहेका छन् । जब मानिस देश छाडेर बाहिर जान्छ तब मनमा देशप्रेम जाग्छ । लोकगीत भनेको नेपालीपनसँग नजिक हुन्छ । लोकगीतले आफ्नो गाउँ, आफ्नो गाउँ, आफ्ना बाबा आमा र आफ्नो बाल्यकाल सम्झाउँछ । लोकगीतमा स्थानीय अनुहार देखिन्छ त्यसैले विदेशमा बस्दाखेरी बढी देशप्रेमको भाव जाग्छ । लोकगीत सुन्दा आफ्नै गाउँमा रहेको, बाबुआमाको काखमा रमाएको भान हुने हुँदा विदेशका नेपालीहरुमाझ लोकगीत लोकप्रिय भएको लोकगीतमा पहिलो विद्यावारिधि गरेका गायक डा. गोविन्द आचार्यले बताए।

उनका अनुसार नेपालमा अहिले परम्परागत र आधुनिक गरी दुई किसिमका लोकगीतहरु रेकर्ड भइरहेका छन् । तर ती गीतहरुमध्ये जुन नेपालका खास मौलिक गीत हुन् ती परम्परागत लोकगीतहरुले त्यति स्थान पाएका छैनन्। ‘अहिले साँच्चै भन्ने हो भने जुन बजारमा चर्चा पाएका गीतहरु छन् ती मध्ये मुस्किलले १–२ प्रतिशत मात्रै हाम्रा परम्परागत लोकगीत हुन् । जुन नेपाली गाउँका दूरदराजमा गाइन्छ, ति गीतहरु न रेकर्ड भएका छन् न मिडियाले नै सुनेका छन् । ती गीत आउने हो भने अझै धेरै नेपालीको मन छुने थियो र खास लोकगीतको पनि जगेर्ना हुने थियो,’ आचार्यले भने।

इन्द्रेणी कार्यक्रम लोकप्रिय छ, अझै मेहनत गर्नुपर्छ

पछिल्लो समयको सबैभन्दा लोकप्रिय लोक दोहोरीको कार्यक्रम हो इन्द्रेणी । आफुले समय मिल्दासम्म यो कार्यक्रम हेर्ने गरेको आचार्य बताउँछन् । पछिल्लो समय समाजसेवामूलक कार्यक्रम भएकाले निकै राम्रो पनि भएको आचार्य बताउंछन् । तर इन्द्रेणीले खासमा अझै दूरदराजमा पुगेर लोपोन्मुख लोकगीतहरु उजागर गर्न नसकेको भन्दै आचार्यले यस्ता कार्यक्रम र मिडियाले गाउँका खास गीतहरुलाई मिडिया मार्फत सम्पूर्ण नेपालीमाझ पुर्याउन सक्नुपर्ने बताए ।

हरेक देशका लोक गीतहरु लोकप्रिय

गृह जिल्ला दाङ्गबाट ग्लोबल नेप्लिजसँग कुरा गर्दै डा. आचार्यले नेपालमा मात्रै नभएर विश्वका सबै देशमा आ–आफ्नै परम्परागत लोक गीतहरु भएको बताए । ‘नेपालमा जस्तै विश्वका अन्य देशमा पनि ट्रेडिसनल गीतहरु हुन्छन् । ती गीतहरु पनि नेपाली लोक गीत जस्तै लोकप्रिय छन् । हाम्रै नेपालमा पनि गुरुङ, थारु, मगर, किराँत लगायतका प्राय सबै समुदायका आफ्नै लोक गीतहरु छन्।’

‘ती समुदायमा ती गीतहरुको लोकप्रियता अति नै बढी छ । दक्षिण एशियामा रहेका भारत, पाकिस्तान, भुटान बंगलादेशमा पनि आ-आफ्नै ट्रेडिसनल गीत छन्। हामीलाई आफ्नो लोकगीत जस्तो अरुको नहोला भन्ने लाग्छ, तर उनीहरुका पनि गीत हाम्रा जस्तै लोकप्रिय छन्,’ आचार्य ले भने। ।

More News last news
Loading...