एक महिने गुँला पर्व शुरु

काठमाडौं l काठमाडौं उपत्यकामा बौद्ध धर्म अनुयायी नेवार समुदायको गुँला पर्व शुरु भएको छ। श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म मनाइने गुँला पर्व शुरु भएको हो। नेपाल संवत्अनुसार दशौँ महिनालाई गुँला भनिन्छ ।

‘गुँ’को अर्थ गुण गर्ने, राम्रो एवं गुनिलो काम, अरुको उपकार गर्ने कामलाई जनाउने र ‘ला’को अर्थ महिना भएको राजगुरुजु मञ्जुश्रीबज्र बज्राचार्य बताउँछन्। ‘यो पर्वका अवसरमा सक्नेले दशशील, नसक्नेले अष्टशील र त्यो पनि नसक्नेले कम्तीमा पनि पञ्चशील पालना गर्नुपर्छ, पञ्चशील सबैले सधैँ पालना गर्नुपर्छ भन्ने नियम छ’, उनले भने।

Advertisement

पञ्चशीलमा प्राणी हिंसा नगर्ने, कसैले नदिई केही पनि नलिने, काम मिथ्याचार नगर्ने , झुटो कुरा नबोल्ने, लागुपदार्थ एवं मद्यपान नगर्ने पर्छन्।
पञ्चशीलमा तीन शील थपेपछि अष्टशील हुन्छ । अग्लो खाटमा नसुत्ने, मनोरञ्जन नगर्ने र समयमै भोजन गर्ने यसलाई समेत थपेर अष्टशील भनिन्छ। यसमा दुई कुरा थपेपछि दशशील हुन्छ। आभूषण ग्रहण नगर्ने र ब्रह्मचर्यमा बस्ने यतिसम्म नियम पालना गर्नुलाई दशशील भनिने पनि राज गुरुजु बज्राचार्यले जानकारी दिए।

यो महिनामा क्षमताअनुसार दान दिने गरिन्छ । यो महिनाभर स्वयम्भू महाचैत्यमा विशेष मेला लाग्छ। राजधानी शहरका विभिन्न भागबाट गुँला बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजनको प्रत्येक वर्ष यो महिनामा भीड लाग्छ । वर्षभर निधन भएका व्यक्तिको नामबाट श्रृङ्गभेदी अर्थात् भैँसीको सिङबाट बनेको बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजन पनि धेरै हुन्छन्।

काठमाडौं महानगरपालिका–७ चाबहिलका स्थानीय राजेन्द्र डङ्गोल धिमे बाजा, बाँसुरी, पछिमा (ढोलक जस्तै बाजा) बजाएर मन्दिर घुमी गुँला पर्व मनाउने गरिएको बनाउँछन्। चाबहिलमा चन्द्रविनायक पर्खालभित्रबाट घुम्ने गरिन्छ।

चाबहिल क्षेत्रमा घरघरमा गरिने यो परम्परालाई हाल यहाँको नाट्येश्वरमा बाजा पूजा गरी निरन्तरता दिइएको छ । चाबहिलबाट पनि विगत वर्षमा महिनाभरमा एक दिन भए पनि फुर्सद मिलाएर विभिन्न थरी बाजा बजाउँदै स्वयम्भू घुम्न जाने गरिन्छ।

ठमेलमा शतसहस्रिका प्रदर्शन गरिने

गुँला पर्वका अवसरमा विभिन्न बौद्ध विहारमा दीपङ्कर बुद्ध एवं अन्य बुद्धका सामग्री प्रदर्शन गरिन्छ। यो अवसरमा विभिन्न बौद्ध विहारमा पञ्चरक्षा, प्रज्ञा पारमिता पाठ गरिन्छ। ठमेलको भगवान् बहालमा नीलपत्रमा स्वर्ण अक्षरले लेखेको शतसहस्रिका अर्थात् एक लाख श्लोक रहेको प्रज्ञा पारमिता ग्रन्थ इच्छुक दर्शनार्थीका लागि देखाइन्छ। गुरुजुबाट यसको पाठसमेत हुन्छ । यो महायान सम्प्रदायको ठूलो ग्रन्थ हो।

More News last news
Loading...