काठमाडौँ । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका पाइलट वरिष्ठ क्याप्टेन चेतन बहादुर गुरुङको अन्त्यष्टी गरिएको छ । हिन्दू परम्पराअनुसार गुरुङको आज शुक्रबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो ।
पर्वतीय उडान सकेर फर्किंदै गरेका ५ मेक्सिकन नागरिक सवार मनाङ एयरको हेलिकोप्टर असार २६ गते मंगलबार सोलुखुम्बुको लिखुपिके–५ लामजुरानजिक दुर्घटना हुँदा पाइलट गुरुङसहित ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
गुरुङको अन्तिम बिदाइमा गाउँपालिका प्रमूख नवराज ओझा, नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, रुपा समाज काठमाडौँका पदाधिकारी तथा आफन्त र शुभचिन्तकको उपस्थिती रहेको थियो । स्वर्गिय क्याप्टेन गुरुङ कास्कीको रुपा गाउँपालिका ६ स्थायी घर भइ हाल ललितपुरको भैँसेपाटी बस्दै आएका थिए । गुरुङकी एक श्रीमती र एक छोरी छन् ।
रुपाले ६ महिनाको अन्तरमा गुमायो २ पाइलट
यस अघि पुसको अन्तिममा पोखरामा भएको भयानक यती एयरको विमान दर्घटनामा परी सोही गाउँपालिका वडा नम्बर १ का पाइलट कमल केसीको दुखद् निधन भएको थियो । योसँगै कास्कीको रुपा गाउँपालिकाले ६ महिनाको अन्तरमा हवाइ दुर्घटनाबाट २ जना सिनियर पाइलट गुमाएको छ । करिब ६ महिनाको अवधिमा गाउँपालिकाले पाइलट कमल केसी र चेतबहादुर गुरुङलाई हवाइ दुर्घटनामा गुमाएको हो ।
माघमा पोखरामा भएको यती एअरलाइन्स दुर्घटनामा पाइलट केसीलाई गुमाएको ६ महिनामै अर्का हेलिकोप्टर पाइलट चेतबहादुर गुरुङको दुर्घटनामा निधन भएको हो । पाइलट गुरुङले मंगलबार सोलुखुम्बुमा भएको मनाङ एअरको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका हुन् ।
गाउँपालिकाले पाइलट केसीको नाममा अर्धकदको सालिकसहितको पार्क निर्माण गरी शिलालेखमा जहाजमा दुर्घटना भएका ७२ जनाको नाम लेखिने र पाइलट केसीका बारेमा स्थानीय पाठ्यपुस्तकमा समावेश गराउने निर्णय समेत गरेको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
