बैतडीमा ९ महिनामा ७४ महिला तथा बालबालिका हराए

बैतडी l भारतसँग सीमा जोडिएको बैतडीमा चालू आर्थिक वर्षको ९ महिनामा ७४ जना बेपत्ता छन्। सो अवधिमा हराएकामध्ये अधिकांश महिला तथा बालबालिका रहेका छन्। जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार चालू आवको अहिलेसम्म ४७ महिलासहित ७४ जना बेपत्ता भएका हुन्।

बेपत्ता भएका ४७ महिलामध्ये ३० जना फेला परेका बैतडीका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। १८ बालिका बेपत्ता भएकोमा ७ जना, ४ बालक बेपत्ता भएकोमा ३ जना र ५ पुरुष बेपत्ता भएकोमा एकजना मात्रै फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Advertisement

हराउने महिला तथा बालबालिकामध्ये केही प्रहरीको सक्रियतामा भेटिन्छन् भने केही आफन्तकै पहलमा भेटिने गरेका प्रहरी निरीक्षक खत्रीको भनाइ छ। हराउने बेला प्रहरीलाई खबर गर्ने गरेका भए पनि धेरै जना भेटिएका भए पनि प्रहरीमा खबर नगर्ने पनि गरेका छन्।

हराएकाको अझै पनि जिल्लास्थित मातहतका प्रहरी चौकी तथा छिमेकी जिल्लामा हुलिया एवं तस्वीरसहित पत्राचार गरिएको र खोजी भइरहेको प्रहरीले जनाएको छ। भारतसँग सीमा जोडिएको जिल्ला भएकाले सीमानाकाहरूमा पनि कडाइ गरिएको छ।

More News last news
Loading...