दोलखा । नेपाली कांग्रेस दोलखाले सरकारी कर्मचारीलाई नेपाल विद्यार्थी संघ दोलखाको अध्यक्ष बनाउन केन्द्रमा सिफारिस गरेको देखिएको छ । दोलखाको कालिन्चोक गाउँपालिकामा कार्यरत सुचना तथा संचार प्रबिधि अधिकृत सौगात थापालाई दोलखा कांग्रेसले नेविसंघको जिल्ला अध्यक्षका लागि सिफारिस गरेको हो ।
यो समाचार तयार पार्दासम्म थापाको नाम गाउँपालिकाको वेबसाईट मै रहेको छ भने गाउँपालिकामा हाजिर गरेर तलब भत्ता लिइरहेको पाइएको छ । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले विद्यार्थी नेता प्रनिल तामाङलाई मनोनीत गरेपछि दोलखा काङ्ग्रेसले बिरोध गरेको छ ।
नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाकै वडाका तामाङलाई केन्द्रीय समितिले मनोनीत गर्दा पार्टी सभापति लामा भने त्यसको विरुद्धमा उत्रिएका छन् । आफ्नो वडाबाटै नेविसंघको अध्यक्ष हुँदा पनि असन्तुष्ट भएका लामाले सरकारी सेवासुबिधा लिइरहेका सौगात थापालाई अझै पनि अध्यक्ष बनाउन माग गरेका छन् ।
सभापति लामाकै नेतृत्वको कांग्रेस जिल्ला कार्यसमिति दोलखाले नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको राजीनामा माग समेत गरेको छ। जिल्लाले सिफारिस गरेको भन्दा फरक विद्यार्थीलाई नेविसंघ दोलखाको अध्यक्ष बनाएको भन्दै दोलखा कांग्रेसले पार्टी सभापतिसमक्ष शर्पाको राजीनामा माग गरेको एक विज्ञप्तिमार्फत जानकारी दिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
