हेटौंडा l बागमती प्रदेशमा अब ७० अंक ल्याए सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल पास हुने व्यवस्था मंगलबारदेखि लागू हुँदैछ।बागमती प्रदेशभरि एकैपटक ७० अंक ल्याए सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल पास हुने प्रणाली लागू हुने भएको हो।
प्रदेश सरकारले मंगलबारदेखि यातायात व्यवस्था विभागबाट जारी निर्देशिका,२०७७ लागू गर्न लागेको हो। प्रदेश सरकारको प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको अनुसार मंगलबार बिहान ८ बजे प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राधेराधे स्थित ट्रायल सेण्टरवाट उक्त प्रणालीको शुभारम्भ गर्दैछन्।
त्यसैगरी प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले सतुंगलस्थित ट्रायल सेण्टर ठूलो भर्याङ कार्यालयबाट सेवा शुभारम्भ गर्ने कार्यक्रम रहेको निरौलाले जानकारी दिए। फागुन १ गते नै सबै कार्यालयबााट सेवा सञ्चालन गर्ने भनिए पनि सार्वजनिक बिदा परेकोले मंगलबार सेवा सुरु गर्न लागेको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ।
यसअघि सोमबार चाबहिलस्थित कार्यालयको ट्रायल सेन्टरबाट उपत्यकाका ट्रायल परीक्षा लिने कार्यालयका प्रमुख एवं सम्बन्धित कर्मचारी र श्रम, रोजगार तथा यातायात मन्त्रीको उपस्थितीमा डेमो समेत गरिएको थियो। मंगलबारबाट चावहिल, राधेराधे, ठूलेभर्याङ र हेटौडा स्थित कार्यालयवाट ७० अंक ल्याए ट्रायल पास हुने प्रणाली लागू हुनेछ। एकान्तकुनामा केही व्यवस्थापकीय कार्य पूरा नभएकोले केही दिन पछिमात्र यो व्यवस्था बमोजिम ट्रायल परीक्षा शुरू गरिने जनाइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
