एसईईमा जीपीए ४.० ल्याउनेलाई एक लाख पुरस्कार

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–२ ले एसईईमा उच्च अङ्क (जीपीए) हासिल गर्ने विद्यार्थीलाई एक लाख रुपैयाँको पुरस्कार दिने घोषणा गरेको छ । विद्यार्थीलाई मेहनत गर्न प्रोत्साहित गर्ने उद्देश्यले वडा कार्यालयले ५० हजारदेखि एक लाख रुपैयाँको पुरस्कार दिने निर्णय गरेको छ।

वडा अध्यक्ष देवराज लामाले विद्यार्थीलाई उच्च शिक्षामा सहयोग पुगोस् भनेर पनि पुरस्कार प्रदान गर्न लागिएको बताए। गाउँपालिका–२, कार्य समितिको माघ २० गते बसेको बैठकले यस्तो निर्णय गरेको हो। एसईईमा जीपीए ४.० प्राप्त गर्नेलाई एक लाख रुपैयाँ, जीपीए ३.६ भन्दा माथि ल्याउनेलाई ७५ हजार रुपैयाँ र जीपीए ३.२ भन्दा माथि ल्याउनेलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

Advertisement

सो वडामा माध्यमिक तहको पठनपाठन हुने सर्वोद्धार माध्यमिक विद्यालय मात्र छ। तसर्थ सो पुरस्कारको कार्यक्रम सोही विद्यालयमा मात्र सीमित हुनेछ । उहाँले यसलाई आगामी वर्ष पनि निरन्तरता दिने बताए। अहिलेसम्म सो विद्यालयका विद्यार्थीले माथिल्लो जीपीए प्राप्त गर्न सकेका छैनन्।

विद्यालयका प्रधानाध्यापक ज्ञान्जमान तामाङले विद्यार्थीका लागि पुरस्कार रकमले निकै ठूलो महत्व राख्ने बताए । विद्यालयमा ९९ प्रतिशत तामाङ र एक प्रतिशत मगर समुदायका विद्यार्थी अध्ययनरत छन् । यस वर्ष १८ जना परीक्षार्थी एसईईमा सहभागी हुँदै छन् । गोरखापत्र दैनिकबाट

More News last news
Loading...