काठमाडौं l सरकारले पुस २७ गते पृथ्वी जयन्तीको दिन विदा दिने भएको छ। अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले मस्यौदा गरेको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा पृथ्वी जयन्तीमा बिदा दिने उल्लेख छ। यद्यपि यसलाई शीर्ष नेताहरूले आधिकारिकता दिन बाँकी छ।
सत्ता गठबन्धनले शुक्रबार सार्वजनिक गरेको मस्यौदाको पृष्ट ११ मा ‘पर्यटन संस्कृति सामाजिक सद्भाव र राष्ट्रिय एकता’ शीर्षकमा ‘नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीको दिन पुस २७ गते सार्वजनिक बिदा दिने’ उल्लेख छ।
मस्यौदालाई शनिबार शीर्ष नेताहरूको बैठकले आधिकारिकता दिएपछि सार्वजनिक गरिनेछ। सत्तारुढ गठबन्धनमा रहेको राप्रपाले सरकारमा जान राखेको शर्तमध्ये ‘पृथ्वी जयन्तीमा विदा दिनुपर्ने’ पनि उल्लेख थियो।
मुलुकमा राजतन्त्र छँदा पुस २७ लाई राष्ट्रिय एकता दिवसको रूपमा सार्वजनिक बिदा दिने गरिएको थियो। राजतन्त्र ढलेसँगै बिदा कटौती गरियो। यस बिचमा २०७४ सालमा पृथ्वी जयन्तीका दिन राष्ट्रिय पर्वका रूपमा सार्वजनिक बिदा दिइएको थियो। शेरबहादुर देउवा प्रधानमन्त्री रहेका वेला तत्कालीन परराष्ट्रमन्त्री कमल थापाको पहलमा बिदा दिइएको हो।
गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं। १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे-चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए ।
भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ । पृथ्वी नारायण शाहले सम्पूर्ण नेपालीहरूलाई औँला माथि उठाएर राष्ट्रिय एकताको सन्देश दिएको सालिक तथा तस्बिरले आम नेपालीहरूलाई हरेक पल एकताको शिक्षा दिई रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
