नेवार सुन्दरीहरले यःमरि बनाउने विधि सिक्दै र सिकाउँदै यःमरि पुन्हि मनाएका छन्। नेप्लीज फेसन होमले हरेक वर्ष आयोजना गर्दै आएको मिस नेवाः नेपाल, मिस लिटील नेवाः र किड क्वीनका विजेता, उपविजेता र सहभागीका साथमा यस वर्ष हुने मिस लिटील नेवाः का प्रतियोगीहरुले बिहीबार यःमरि बनाउने विधि सिक्दै र सिकाउँदै यःमरि पुन्हि मनाएका हुन्।
राजधानीको डिल्लीबजारस्थित नेप्लीज फेसन होमको कार्यालयमा रहेको प्रशिक्षण कक्षमा जम्मा भएका नेवार सुन्दरीहरुले बिहीबार दिनभर चामलको पिठो मुछेर रोटी बनाई चाकु र खुवा राखेर यःमरि बेरेको दृश्य रोचक देखिन्थ्यो।
उनीहरुले प्रशिक्षण हलमा नै बफ्याएर यःमरि पकाई एक अर्काका साथमा अतिथीहरुलाई चखाएका थिए। कहिले मिस नेवाः नेपालका विजेताहरुले मिस लिटील नेवाः र किड क्वीनहरुलाई यःमरि बनाउन सिकाएको र कहिले उनीहरुले मिस नेवाः नेपालहरुलाई सिकाएको दृश्य रोचक लाग्थ्यो।
बिच बिचमा आयोजक समूह र अभिभावकले पनि उनीहरुलाई यःमरि बनाउन सिकाएको देखिन्थ्यो। भिन्न भिन्न समूहले बनाएको यःमरिको आकार पनि फरक फरक बनेको देखिन्थ्यो। कतिपय यःमरिको आकार विग्रन पुग्दा सहभागीले हुँदै भएन भनेर बनाउनै छोडिदीने गरेपछि नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धर र अभिभावकहरु केही फरक पर्दैन, यो बिग्रिए अर्को राम्रो बन्छ भनेर हौस्याईरहेका र यःमरि बनाउन सफल भएपछि सहागीहरु रमाएका देखिन्थे।
आयोजक हेमा मानन्धरले यःमरि पुन्हि नेवारी चाड पर्वमध्येको महत्वपूर्ण पर्व भएकाले हरेक वर्ष यःमरि पुन्हिका अवसरमा नेवार सुन्दरीहरुलाई यःमरि बनाउन सिकाएर र एक अर्कालाई खुवाएर यो दिवस मनाउने गरेको बताइन् । उनले यःमरि संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न आफूहरूले यो कार्यक्रमलाई निरन्तरता दिएको बताइन्।
‘हिजोआज कतिपय नेवारको घरमा यःमरि बनाउँदैन। जसले गर्दा यो संस्कृति नै लोप हुने खतरा बढेको छ। यसको संरक्षणका लागि हामीले हरेक वर्ष यो कार्यक्रम गर्दै आएका हौँ’ हेमाले भनिन्। कार्यक्रमका सहभागीहरुले आफूहरूले सिकेको यःमरि बनाउने कला र विधि आगामी दिनमा घरमा पनि पछ्याउने बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
