काठमाडौँ । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल बोर्ड बन्द गराएको छ । उक्त डिजिटल बोर्ड नियम विपरीत भएको भन्दै महानगरले हटाउन पटक-पटक आग्रह गर्दा पनि सेन्टरले बन्द नगरेपछि बिहीबार महानगरपालिकाको टोली आफैं गएर बोर्ड बन्द गराएको हो ।
केहीबेर अघि उक्त बोर्ड बन्द गराउनका लागि नगर प्रहरीहरु त्यहाँ पुगेका हुन् । उनीहरुलाई मेयर बालेन्द्र शाहले निर्देशन दिएको उहाँका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिनुभयो । नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोली ट्रेड सेन्टर गएको थियो ।
स्वीकृत मापदण्डमा ८ सय स्क्वायर फिटमा मात्रै डिजिटल होडिङ बोर्ड राख्न पाइने नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त बोर्डले १६ सय स्क्वायर फिटभन्दा बढी क्षेत्रफल ओगटेको छ । यस्तै बोर्डले भवनको झ्याल समेत छेकेको उहाँले बताउनुभयो ।
मुख्य सडकको भवनमा ठूलो डिजिटल बोर्डले सवारी चालकको ध्यान भंग गर्ने हुँदा दुर्घटनाको जोखिम समेत हुने गरेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
