देशभरका शिवालयमा व्रतालुको भीड, पशुपतिमा ४ स्थानबाट प्रवेशको व्यवस्था

काठमाडौं । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज पर्व हर्षल्लासका साथ मनाइँदैछ । हिन्दु नेपाली महिलाहरूले भगवान महादेवको पूजा आराधना गरी तीज मनाउने गर्छन् ।

आजको दिन व्रत बसी शिव-पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास रहिआएको छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद्हरू नै बताउँछन्।

Advertisement

अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रका जानकारहरु बताउँछन् । समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेको धर्मशास्त्रीहरुको मत छ।

अघिल्लो दिन राति दर खाएकाहरूले तीजको दिन व्रत बस्ने र शिव-पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ । विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

यसैबीच पशुपतिनाथमा व्रतालु महिलाहरुको बिहानैदेखि भीड लागेको छ । तिजका व्रतालु महिलालाई चार स्थानबाट प्रवेश दिइएको छ । कोटेश्वर–तीनकुने –सिनामंगल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगंगा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको छ।

यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल आर्यघाट जाने बागमती नदीमाथिका दुई पुल पार गरेपछिको मध्य क्षेत्रमा राख्ने गरी व्यवस्था मिलाइएको छ। यस क्षेत्रमा जुत्ता चप्पल सुरक्षित राखेर स्वयंसेवा गर्ने जिम्मेवारी जयवागेश्वरी टोल सुधार समितिले पाएको छ। तिजमा दर्शन गर्ने भक्तजनका लागि योसहित चार वटा लामको व्यवस्था गरिएको छ ।

दोस्रो लाम मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल शङ्कराचार्य मठअघिको क्षेत्रमा राख्न सकिने गरी व्यवस्था गरिएको छ । यहाँ पशुपति सृजनशील युवा क्लबले जुत्ता चप्पल सुरक्षित राखेर भक्तजनलाई सहयोग गर्ने जिम्मेवारी लिएको छ।

तेस्रो लाम गौशाला–पिंगलास्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ। यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल बज्रघरअघिको भाग राखिने छ। यस स्थानको जुत्ता चप्पल व्यवस्थापनको जिम्मेवारी अमर नवकान्तेश्वर युवा क्लबले लिएको छ।

चौथो लाम गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्नेछ। यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल गुरु मन्दिरअघिको खुला भागमा राखिनेछ। भक्तजनको जुत्ता चप्पल सुरक्षित राखिदिने जिम्मेवारी नवरथ स्काउट ग्रुपले लिएको छ।

More News last news
Loading...