नागढुंगामा भेटियो यति ठुलो रकम, ५ जना पक्राउ

काठमाडौं l प्रहरीले काठमाडौं प्रवेश गर्ने नाका नागढुंगाबाट स्रोत नखुलेको झन्डै चार करोड नगदसहित पाँच जनालाई पक्राउ गरेको छ।

नुवाकोट बिदुर नगरपालिका-८ का ४४ वर्षीय फुलबहादुर गुरुङ र अरू चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको लागु औषध नियन्त्रण ब्युरो स्रोतले जानकारी दियो।

Advertisement

मंगलबार बिहान साढे ९ बजे चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुंगा नाकामा बिएबी ५७१० नम्बरको कारलाई रोकेर प्रहरीले चेकजाँच गरेको थियो। सो कार नुवाकोटबाट काठमाडौं आउँदै थियो।

सो कारबाट प्रहरीले स्रोत नखुलेको ३ करोड ८९ लाख १३ हजार ७२० रुपैयाँ बरामद गरेको हो। प्रहरी स्रोतका अनुसार लागु औषध सहित केही मानिसहरू काठमाडौं प्रवेश गर्दैछन् भन्ने सूचना पाएको थियो।

सो सूचना अनुसार प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरोबाट संयुक्त टोली खटियो।

टोलीले चेकजाँच गर्नेक्रममा स्रोत नखुलेको रकम फेला पारेको हो। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ।

More News last news
Loading...