काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकामा नेकपा एमालेले ठूलो धक्का व्यहारेको छ । मेयर र उपमेयरसहित ४६ जनप्रतिनिधि नेपाली कांग्रेसबाट चुनिँदा एमाले दुई महिला सदस्यमा सीमित भएको छ ।
जबकी २०७४ को चुनावमा एमालेले मेयर, उपमेयर, ७ वटा वडाध्यक्षसहित ३४ जनप्रतिनिधि जितेको थियो । एमालेका रमेश महर्जनले कांग्रेसका राजकुमार नकर्मीलाई दुई हजार ६०० भन्दा बढी मतान्तरले हराए ।
यो पटक कांग्रेसले राजकुमारलाई नै उम्मेदवार बनाउँदा एमालेले निवर्तमान मेयर रमेश महर्जनको साटो केशरत्न बज्राचार्यलाई उम्मेदवार बनायो ।
तर नजिता एमालेको पक्षमा आएन । कांग्रेसले मेयर, उपमेयर, १० मध्ये ९ वडाध्यक्ष र ३३ वडा सदस्य जितेको छ । जबकी अन्यत्र गठबन्धन गरेको माओवादी केन्द्र र एकीकृत समाजवादी पनि कीर्तिपुरमा कांग्रेससँग प्रतिस्पर्धामा थियो । त्यसका बाबजुद कांग्रेसले जबर्जस्त जित निकालेको छ ।
नकर्मी ९ हजार ४३ मतका साथ मेयरमा निर्वाचित हुँदा एमालेका बज्राचार्यले ५५०७ मत मात्र पाए । उपमेयरमा पनि कांग्रेसकै शुभलक्ष्मी शाक्य चुनिइन् । उनले ८६६५ मत ल्याउँदा एमालेकी उम्मेदवार विन्दु महर्जनले ७२०६ मत पाइन् ।
माओवादी केन्द्रबाट मेयरका उम्मेदवार बनेका शिवशरण महर्जनले ४०९० र उपमेयरका उम्मेदवार सुशीला बस्नेतले २२४० तथा एकीकृत समाजवादीका मेयरका उम्मेदवार वटुकृष्ण थापाले ११५३ तथा उपमेयरकी उम्मेदवार कमला महर्जनले ८७२ मत पाएकी छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
