काठमाडौँ । कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकामा सवारीसाधनमा लागू गरिएको जोरबिजोर प्रणाली आधा महिनापछि हटेको छ।
काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटाउने निर्णय गरेसँगै मध्यरातिबाट निर्णय लागू भएको हो।
७ माघ मध्यरातिदेखि जोरबिजोर लागू भएको थियो । त्यसपछि १४ माघमा संशोधन गर्दै सार्वजनिक सवारीसाधनमा जोरबिजोर हटाइएको थियो । तर, निजी सवारीसाधनमा भने जोरबिजोर कायमै थियो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले कोरोना महामारीमा जारी स्वास्थ्य मापदण्डको पालना गर्नेगरी जोरबिजोर हटाइएको बताए। उनका अनुसार गाडीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने मास्क अनिवार्य गरिएको छ।
पछिल्लो समय नेपालमा कोरोना संक्रमण दर घट्दै गएको छ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २ सय ५१ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ३ सय ८६ संक्रमित थपिएका हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
