काठमाडौँ । प्यूठानमा बेहुला बेहुलीसहित जन्ती बोकेको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । ज्यान गुमाउनेमध्ये सात जनाको सनाखत भएको छ।
दुर्घटनामा परी एकै परिवारका श्रीमान, श्रीमती र छोरीको मृत्यु भएको छ। गौमुखी गाउँपालिका वडा नं ६ जिनाबाङका ३९ वर्षीय वसन्त खड्का, उनकी ३९ वर्षीया श्रीमती वसन्ती खड्का र उनीहरूकी ११ वर्षीया छोरी एलिसा खड्काको मृत्यु भएको गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु गिरीले जानकारी दिएका छन् ।
त्यस्तै, अन्य मृतकमा २९ वर्षीया केशरी खड्का, गाडी चालक ५० वर्षीय बलबहादुर बुढा मगर, ३२ वर्षीय खिम खत्री र ५० वर्षीया नन्दी खड्का छन्। एक जनाको भने सनाखत हुन बाँकी रहेको बताइएको छ।
दुर्घटनामा परि बेहुला २५ वर्षीय दानबहादुर खड्का, बेहुली १९ वर्षीया रीमा जिसी, २१ वर्षीय हरि बुढा मगर, १७ वर्षीय नरेश खड्का र २५ वर्षीया साबित्रा जिसी घाइते भएका छन् ।
घाइतेमध्ये बेहुलीसहित तीन जनाको अवस्था गम्भीर छ। अध्यक्ष गिरीका अनुसार बेहुलीको एउटा हात नै चुँडिएको छ। गम्भीर घाइते बेहुलीसहित तीन जनालाई बुटवल रेफर गरिएको छ। बेहुला दानबहादुर खड्का र साबित्रा जिसीको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ।
अध्यक्ष गिरीले रातीको समयमा दुर्घटना हुनु, उद्धारमा ढिलाई हुनु जस्ता कारणले धेरै घाइतेको मृत्यु भएको बताए । नौबहिनी गाउँपालिकाको लुङ बाउनेबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप ओखरपाटामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको थियो।
जिप सडकदेखि १५० मिटर तल खोल्सामा खसेको छ । रातभर पानी परेको र बाटो चिफ्लो भएका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
