भक्तपुरको एकै ठाउँका ११ जनामा नयाँ भेरिएन्ट पुष्टि, प्रशासनको कडा निर्देशन

काठमाडौँ । भक्तपुरमा जिल्ला प्रशासन कार्यालय एवं जिल्ला विपद् व्यवस्थापन समितिले कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन सार्वजनिक स्थलमा कडाइ गर्न सुरु गरेको छ।

कोरोना भाइरस सङ्क्रमण फेरि बढ्दै गएपछि भक्तपुरमा स्वास्थ्य मापदण्ड पालनलाई कडाइ गरिएको र आजदेखि माइकिङ सुरु गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्। घर बाहिर निस्कँदा मास्क नलगाउनेलाई अब कारबाही गरिने भएको छ।

Advertisement

उनले भनिन्, ‘कोरोना सङ्क्रमणबाट बच्न अनिवार्य मास्क लगाउन सबैलाई आह्वान गरेका छौँ, आजदेखि माइकिङ गर्दै छौँ, मास्क लगाउन, साबुनपानीले हात धुन, स्यानिटाइजर लगाउन, सामाजिक तथा भौतिक दूरी कायम राख्न, भीडभाड नगर्न आह्वान गर्दै छौँ।’

सार्वजनिक यातायातका साधनमा भीडभाड नगर्न, अनिवार्य मास्क लगाउन, चालक तथा सहचालकलाई मास्क, फेसमास्क लगाउन कडाइ गरिने छ। प्रजिअ शर्माले भनिन्, ‘सार्वजनिक यातायातदेखि सार्वजनिकस्थलमा अनुगमन गर्छौँ।’

जिल्लाका सरकारी तथा निजी अस्पताललाई तयारी अवस्थामा रहन उनले निर्देशन दिए। सङ्कट समाधानका लागि यहाँका सबै अस्पताललाई तयारी अवस्थामा राखिएको छ। भक्तपुरमा कोरोनाविरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउन जनप्रतिनिधि, सुरक्षा निकायलगायत सबै संयन्त्रको सहयोग र समन्वयमा काम भइरहेको छ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारका अनुसार मध्यपुरथिमि नगरपालिकामा ११ जनामा नयाँ भेरिएन्ट फेला परेको छ। चाँगुनारायणमा तीन, सूर्यविनायकमा आठ र अन्यमा चार नयाँ सङ्क्रमित थपिएका छन्। भक्तपुरमा हालसम्म कोरोनाबाट ३५७ जनाको मृत्यु भएको छ। जिल्लामा १८५ सक्रिय सङ्क्रमित छन्।

हालसम्म २ लाख ३३ हजार ७५१ जनाले खोप लगाएको मिजारले जानकारी दिए। भक्तपुर नपामा ५१ हजार ५९६, चाँगुनारायणमा ४१ हजार ९०९, मध्यपुरथिमिमा ५८ हजार ५८१ र सूर्यविनायक नपामा ८१ हजार ७०५ जनाले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन्।

More News last news
Loading...