काठमाडौं । सिरिन्ज अभावका कारण दुई साताअघि स्थगित कोरोनाविरुद्धको खोप अभियान भोलि पुस २७ गतेबाट हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलिबाट उपत्यकामा तीनै जिल्लाका स्थानीय तहसँग समन्वय गरी १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि खोप अभियान शुरू गर्न लागेको हो।
यसअघि पुस १३ देखि २२ सम्म खोप अभियान शुरू गरिएको थियो । मन्त्रालयले भक्तपुरमा मोडर्ना, काठमाडौं र ललितपुरमा फाइजर खोप दिन लागेको हो । मन्त्रालयका प्रवक्ता डा. गीताकौशल मिश्राले विशेषगरी १२ देखि १७ वर्ष उमेर समूहकालाई उपत्यकामा खोप अभियान सञ्चालन गर्न लागेको पुष्टि गरेका छन् ।
अन्य जिल्लाको हकमा निर्णय भएको छैन । तीनै जिल्लाका जनस्वास्थ्य कार्यालयले स्थानीय तह, निजी विद्यालयको संगठन प्याब्सन र एन प्याब्सनसँग तथ्यांक लिएर अभियाय शुरू गरेको हो । उपत्यकाका काठमाडौं र ललितपुरमा करिब ४ लाख मात्रा खोप दिने तयारी छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेले स्थानीय तहसँग समन्वय गरी अभियान शुरू गर्न लागिएको जानकारी दिए । उनले भने– ‘काठमाडौंका एक महानगरसहित ९ वटा नगरपालिकाबाट तथ्यांक संकलन गरिसकेका छौं, आजसम्म दुईवटा नगरपालिकाबाट तथ्यांक आउन बाँकी छ।’
उनले तथ्यांकको आधारमा स्थानीय तहसँग समन्वय गरी २ सयभन्दा बढी विद्यार्थी भएका विद्यालयमै केन्द्र कायम गरी खोप अभियान सञ्चालन गर्ने जानकारी दिँदै भने – ‘मंगलबारबाट हामीले काठमाडौं महानगरसहित सबै पालिकामा खोप सञ्चालन गर्छौं।’
काठमाडौं स्वास्थ्य कार्यालयले तोकिएका उमेर समूहका २ लाख ७० हजार जनसंख्यालाई खोप उपलब्ध गराउने भएको छ ।
भक्तपुर स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले करिब ५० हजार विद्यार्थीलाई मोडर्ना खोप लगाउने अभियान शुरू गरेको जानकारी दिँदै भने – ‘शुक्रबारबाट खोप लगाउन शुरू गरेका छौं, लक्षित समूहका सबै जनसंख्याले नलगाएसम्म अभियान जारी राख्नेछौं ।’ सरकारले यसअघि ५७ जिल्लाका बालबालिकालाई मोडर्ना र २० जिल्लाका बालबालिकालाई फाइजर खोप दिने बताएको थियो । तर, मोडर्ना खोप केही बाँकी रहेपछि अहिले २० मध्येका केही जिल्लामा पनि मोडर्ना खोप दिने योजना बनेको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
