काठमाडौँ । कोरोना संक्रमणको जोखिम बढेपछि काठमाडौँ उपत्यकामा स्वास्थ्य सतर्कता र पूर्वतयारीका काम अघि बढाउने तयारी थालिएको छ।
स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्ने, खोप कार्यक्रमलाई तीव्रता दिने र स्वास्थ्य पूर्वाधार तयारी अवस्थामा राख्ने गरी तयारी थालिएको हो।
जिल्लामा आ–आफ्नो ढंगले गर्नुपर्ने कामको तयारीका लागि ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले आज सर्वपक्षीय बैठक बोलाएका छन्। छुट्टाछुट्टै छलफल गरेपछि तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसेर आवश्यक निर्णय लिइने छ।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सकेसम्म आजै, नसके भोलि संयुक्त बैठक बस्न सक्ने बताइन्। संयुक्त बैठक बस्नुअघि आज आफूले जिल्लाका राजनीतिक दलका नेता, जनप्रतिनिधिहरु, सुरक्षा अधिकारीहरु, नागरिक समाज, पत्रकार, गैरसरकारी संस्थाका प्रतिनिधि लगायतसँग परामर्श लिन लागेको उनले जानकारी दिइन्। त्यसका लागि आज दिउँसो दुई बजे जिल्ला प्रशासन कार्यालय भक्तपुरमा बैठक बोलाइएको छ ।
शर्माले भनिन्, ‘स्वास्थ्य मापदण्डमा कडाइ गर्ने, स्वास्थ्य पूर्वाधारहरु तयारी अवस्थामा राख्ने लगायतका विषयमा आज हामी जिल्लामा छलफल गर्छौं त्यसपछि सकेसम्म आजै वा भोलिसम्ममा संयुक्त बैठक बस्छौं।’ प्रजिअ शर्माले कोरोना संक्रमणको अवस्थाका साथै विपद र भूकम्प सुरक्षा दिवससम्बन्धी एजेण्डासहित बैठक बस्न लागेको जानकारी दिइन्।
कोरोनाको संक्रमण बढ्दै गएपछि दुई दिनअघि सीसीएमसीको बैठक बसेको थियो। यद्यपि उक्त बैठकका निर्णय सार्वजनिक भएका छैनन्। बैठकपछि स्वास्थ्य मन्त्रालय र सीसीएमसीले अहिलेसम्म कुनै नयाँ निर्णय वा निर्देशन जारी गरेका छैनन्। तै पनि जिल्लाभित्र आ–आफ्नो ढंगले काम गर्ने गरी जिल्ला प्रशासन कार्यालयहरुले तयारी अघि बढाएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
