काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सकिएको छ। राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार तय गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन्। बैठकले १२ माघमा हुन लागेको राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेसको तर्फबाट उम्मेदवार तय गरेको छ।
प्रदेश १ मा गोपाल बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गा पुन र सुदूरपश्चिममा नारायण दत्त मिश्र उम्मेदवार रहने केन्द्रीय सदस्य गोविन्द भट्टराईले जानकारी दिए।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि सोमबार दोस्रो केन्द्रीय कार्यसमिति बैठक बसेको हो । केन्द्रीय कार्यसमिति बैठक बस्नु अघि पदाधिकारी बैठक बसेको थियो ।
राष्ट्रिय सभामा ५९ सदस्यीय छ भने ती सदस्यको कार्यकाल छ वर्षको हुनेछ तर, पहिलो एक कार्यकालका लागि गोलाप्रथाबाट सदस्यहरूको पदावधि निर्धारण गरिएको थियो। त्यसमध्ये पहिला दुई वर्षमै १९ जनाको पदावधि सकिएर निर्वाचन भइसकेको छ । यसपटक २० जनाको पदावधि सकिँदैछ । अर्का दुई वर्षपछि अन्य २० जनाको पदावधि सकिनेछ।
आज बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकले कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई ५-५, जनता समाजवादी पार्टीलाई २ र राष्ट्रिय जनमोर्चालाई एक सिट छुट्याएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
