बुटवल l नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणनामा सभापतिका उम्मेदवार अमरसिंह पुनले अग्रता लिएका छन् । कुल तीन सय ६५ मत गणना हुँदा पुनले दुई सय १० मत प्राप्त गरेका छन् ।
सभापतिका अर्का प्रत्यासी भरतकुमार शाहले एक सय ४७ मत प्राप्त गरेका छन् । पुन रामचन्द्र पौडेल समूहका हुन् भने शाह संस्थापन निकट मानिन्छन् । उनी संसदको सार्वजनिक लेखा समितिका सभापति हुन् ।
यस्तै, उपसभापतिमा अष्टभुजा पाठकले दुई सय चार, भुवनप्रसाद श्रेष्ठले दुई सय आठ, राजु खनालले एक सय ४७ र सुधाकर पाण्डेले एक सय १८ मत ल्याएका छन् । अग्रता हासिल गरेका दुवै जना पौडेल प्यानलका हुन् ।
महामन्त्रीमा विक्रम खनालले दुई सय १८, सुरेन्द्रराज आचार्यले दुई सय ११, खिमानसिंह रायमाझीले एक सय २३ र जन्मजय तिमिल्सेनाले एक सय २७ मत ल्याएका छन् । अन्य पदाधिकारी एवं सदस्यमा पनि पौडेल समूहका उम्मेदवारले अग्रता लिएका छन्।
शनिबार राति १२ बजेदेखि सुरू भएको मत गणनामा अहिलेसम्म तीन सय ६५ मत गणना भएको निर्वाचन समिति संयोजक बुद्धबहादुर थापाले बताए। खुलातर्फ तीन सय र जिल्लातर्फ करिब तीन सय ६५ मत गणना भएको उनले जानकारी दिए।
शनिबार बिहान ११ बजेदेखि भैरहवास्थित महेन्द्र सभागृहमा सुरू भएको मतदान साँझ साढे ५ बजे सकिएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
