काठमाडौँ । साताको पहिलो दिन आइतबार नेपाली सेयर बजारमा भारी गिरावट आएको छ। बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभाव र मौद्रिक नीति समीक्षाप्रति लगानीकर्ताको असन्तुष्टिले बजार ओरालो लागेको हो।
आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ७२.३० अंकले घटेर २५१३.८८ अंकमा झरेको छ। यसदिन २२६ कम्पनीका ८९ लाख २० हजार कित्ता सेयर किनबेच भई ४ अर्व ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
आइतबार नेप्सेसँगै सबै समूहगत परिसूचक पनि घटेका छन्। सबैभन्दा बढि फाइनान्स समूह ४.५४ प्रतिशतले घटेको छ।
गत साताभरमा पनि नेप्से करिब डेढ सय अंकले घटेको थियो। चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा सीमा तोकेको थियो।
राष्ट्र बैंकको निर्देशन अनुसार एउटा बैंकबाट प्रति ऋणी चार करोड र सम्पूर्ण बैंकबाट कुल १२ करोड रुपैयाँसम्म मात्र ऋण लिन पाउने व्यवस्था छ।
यसैगरी मौद्रिक नीतिले नै बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा–निक्षेप (सिडी) अनुपात ९० प्रतिशत कायम गर्नुपर्ने निर्देशन दिएसँगै बजारमा तरलता अभाव भएको छ भने व्याजदर पनि बढेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
