एमाले दिक्तेल रुपाकोट मझुवागढी अध्यक्षमा आचार्य

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नेकपा एमालेको नगर कमिटी अध्यक्षमा गोपालचन्द्र आचार्य चयन भएका छन् । १५ वडा रहेको नगरपालिकामा मंगलबार सम्पन्न नगर अधिवेशनबाट ३३ वर्षीय आचार्य एमालेको नगर कमिटी अध्यक्षमा सर्वसम्मत अध्यक्ष चुनिएका हुन् ।

७५ सदस्यीय नगर कमिटीको उपाध्यक्षमा मनीचन्द्र राई, सचिवमा चित्रकुमार राई, उपसचिवमा लीला चौहान र बिनोद खड्का चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष आचार्य स्थानीय तह कार्यान्वयन पछिको पहिलो नगर अधिवेशनबाट पनि अध्यक्ष बनेका थिए।

Advertisement

२०५६ सालमा पञ्च मावि दिक्तेलमा अखिल क्रान्तिकारीको सदस्य बनेर राजनीति थालेका आचार्य २०६७ सालमा एमाले प्रवेश गरेका हुन्। उनले युवा संघको जिल्ला सचिव, तत्कालीन दिक्तेल गाविसको एमाले अध्यक्षलगायतका भूमिका निर्वाह गरिसकेका छन्।

पार्टीको नीति अनुसार संगठनलाई मजवुद बनाउने र सबै वडामा पार्टीलाई पहिलो बनाउने नवनिर्वाचित अध्यक्ष आचार्यले बताए।

ऐसेलुखर्कमा राजभण्डारी

यस्तै, ऐसेलुखर्क गाउँपालिकाको एमाले पालिका अध्यक्षमा ३९ वर्षीय टेकेन्द्र राजभण्डारी चुनिएका छन् । पालिका कमिटीको उपाध्यक्षमा अरुण राई, सचिवमा माधव राई, उपसचिवमा सविन राई र बालकुमार राई चयन भएका छन् ।

२०५२ सालमा अनेरास्ववियुको त्रिभुवन मावि ऐसेलुखर्कको सचिवबाट राजनीति थालेका राजभण्डारी २०६८ सालमा ऐसेलुखर्क गाउँ कमिटी अध्यक्ष, इलाका कमिटी सचिव हुँदै नेकपा हुँदा पालिका कमिटीको कार्यालय सचिव बनेका थिए।

काठमाडौं बसिरहेका बेला २०६२र६२ सालको जनआन्दोलनमा सशक्त सहभागिता जनाएका राजभण्डारीले संगठनलाई चुस्त दुरुस्त बनाउँदै आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीलाई पहिलो बनाउने प्रतिक्रिया दिए।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङका अन्य पालिका अधिवेशनको बन्दसत्र जारी रहेको एमाले जिल्ला अध्यक्ष रामप्रसाद दंगालले बताए । पालिका अधिवेशनले जिल्लाका ७५० नेताले नयाँ जिम्मेवारी पाउने छन् । एमालेको पालिका अधिवेशनबाट पदाधिकारीसहित ७५ सदस्यीय पालिका कमिटी गठन हुने व्यवस्था छ।

More News last news
Loading...