माले । माल्दिभ्समा जारी साफ च्याम्पियनसीप फुटबलको फाइनल खेल हेर्न त्यहाँको राष्ट्रपति कार्यालयले नेपाली कामदारलाई छुट्टी दिएको छ ।
नेपाल र भारतबीच हुन लागेको साफ फुटबलको उपाधि भिडन्त हेर्न राष्ट्रपति कार्यालयले आफ्नो कार्यालयमा कार्यरत नेपालीहरूलाई छुट्टी दिएको हो । त्यहाँको राष्ट्रपति कार्यालयमा करिब २५ को संख्यामा नेपालीहरू कार्यारत रहेको बताइएको छ ।
आजको फाइनल खेल हेर्न १५ सयदेखि २ हजारको हाराहारीमा नेपाली दर्शक रंगशालामा प्रत्यक्ष उपस्थित हुने अनुमान गरिएको छ । एक हजार जनाले त टिकट समेत काटिसकेको एकजना नेपाली दर्शक सन्तोष मगरले बताए ।
माल्दिभ्सको मालेमा घरमा काम गर्ने नेपाली कामदारको संख्या पनि उल्लेख्य रहेको छ । उनीहरूलाई पनि खेल हेर्न घर मालिकले छुट्टी दिएको मगर बताउँछन्।
माल्दिभ्समा १२ हजारको हाराहारीमा नेपाली कार्यरत रहेको मगर बताउँछन्। मालेभन्दा बाहिर अन्य टापुमा पनि धेरै नेपालीहरू कार्यरत रहेको उनले बताए । ती टापुहरुबाट समेत नेपाली दर्शक फाइनल खेल हेर्न आउने अनुमान गरिएको मगरले बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
