आज दशैँको आठौँ दिन महाअष्टमी, शक्तिपीठ सर्वसाधारणका लागि नखुल्ने

काठमाडौँ । आज बडादसैँको आठौँ दिन दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ। आजको दिन दसैँघर लगायत विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ।

काठमाडौँ उपत्यकाका दक्षिणकाली, गुहृयेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराहीलगायतका मन्दिरमा बलि चढाउने र पूजा गर्नेहरूको बिहानदेखि घुइँचो हुन्थ्यो। राजधानी बाहिर काभ्रेको पलाञ्चोक भगवती र बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, वीरगन्जको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी, डडेल्धुराको उग्रतारालगायतमा पनि भक्तजनको भीड लाग्ने गर्दछ ।

Advertisement

महाष्टमीका दिन राति हनुमानढोकाको दशैंँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने चलन छ। तर, यो वर्ष कोरोना संक्रमण जोखिमका कारण स्थगन गरिएको हनुमानढोका हेरचाह अड्डाले जनाएको छ।

आज दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीक मानेर चामल, सुनचाँदीका गहना, सुपारी, जनै र नैवेद्यसहित नौ वटा वस्तुको दुर्गा थापेर पूजा गर्ने चलन छ। त्यस्तै कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेषरुपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशुबलिसहित पूजा गरिन्छ। यी साधनलाई देवीको शस्त्र अस्त्रका रुपमा मानी पूजा गर्ने गरिएको हो।

देवीका शस्त्र अस्त्रसहित चतुरङ्गिणी सेनाको पनि आह्वान गरी पूजा गर्ने गरिन्छ। पशुबलि नचढाउनेहरुले भने पूजा कोठामा आ–आफ्नो कूल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल आदि बलि चढाइ पूजा गर्छन्।

More News last news
Loading...