काठमाडौं । प्रहरीले उपत्यकाभित्र चोरी तथा पाकेटमारमा संलग्न दुई सय सात अभियुक्तलाई पक्राउ गरेको छ। झन्डै २० दिनको अपरेसनपछि प्रहरीले उनीहरूलाई पक्राउ गर्न सफल भएको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार दसैँलक्षित सुरक्षा कार्यक्रम सञ्चालनका क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमध्ये एक सय ६१ विरुद्ध अनुसन्धान जारी छ। बाँकी ४६ जना पुर्पक्षका लागि जेल चलान भइसकेका छन्। कसुर प्रमाणितपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा उनीहरू जेल चलान भएको परिसर प्रमुख एसएसपी अशोक सिंहले बताए।
उनले भने, ‘दसैँलक्षित सुरक्षा कार्यक्रम हामीले कार्यान्वयनमा ल्याएका थियौँ । यस क्रममा दुई सय सातजना पक्राउ परे। उनीहरू चोरी तथा पाकेटमार धन्दामा संलग्न भएको देखिएको छ जसमध्ये ४६ जना पुर्पक्षका लागि जेल चलान भइसकेका छन्।बाँकीविरुद्ध अनुसन्धान जारी छ।’ प्रहरीका अनुसार उनीहरूलाई चाबहिल, कोटेश्वर, कलंकी, सातदोबाटो, नयाँ बसपार्क, बालाजु क्षेत्रबाट पक्राउ गरिएको हो।
उनीहरुले पकेटमारी गर्दा एक अर्कामा सांकेतिक भाषा प्रयोग गर्ने पाइएको सिंहले बताए। उनीहरुले पैसालाई द, मोवाईललाई कान, पकेटमारी पिडितलाई रामे, पकेटमारी गर्ने (मास्टर) लाई काशी, पैसा धेरै छ लाई टानको द , पैसा थोरै छ लाई जुटको द जस्ता सांकेतिक भाषा प्रयाेग गर्ने गर्थे।
यस्तै, गाडीलाई कांचा, केटालाई छापा, केटीलाई भद्रि, पुलिस आयोलाई ठुल्दाई आयो, ड्राईभरलाई माम, खलासीलाई मले गाडीवाट झरेर भागलाई टप्की गाडी भित्र अगाडी सरलाई अकल जा, गाडी भित्र पछाडी सरलाई चिछल जा जस्ता सांकेतिक भाषा प्रयोग गर्ने गर्थे।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
