महालक्ष्मीमा ‘बा आमाको सेवा, स्वास्थ्य उपचारमा टेवा’ कार्यक्रमको शुभारम्भ

महालक्ष्मी नगरपालिकाले ३१औं अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा ‘बा आमाको सेवा, स्वास्थ्य उपचारमा टेवा’ नामक कार्यक्रमको शुभारम्भ गरेको छ। नगर प्रमुख रामेश्वर श्रेष्ठले बिहीवार सेवासहित ज्येष्ठ नागरिकलाई खादा र कम्बल ओढाएर सम्मान गरे।

उनले भने, ‘तपाईंहरू समाजका उदाहरणीय अंग हुनुभएकाले सबै उच्च सम्मानका साथ कदर गर्दै अघि बढ्नेछौं।’

Advertisement

नगरपालिकाभित्रका ७० वर्षमाथिका हरेक नागरिकको घरदैलोमा गएर प्रत्येक महिनाको एकपटक रक्तचाप, मधुमेह तथा नाडीको गति र अक्सिजनको मात्रा आदिजस्ता स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए।

उपप्रमुख निर्मला थापाले ज्येष्ठ नागरिक राष्ट्रका गहना भएकाले सम्हाल्दै अघि बढ्ने बताए। कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकमध्ये सबैभन्दा ज्येष्ठ हेमकुमारी विष्टसहित अन्य ३९ जनालाई सम्मान गरी सबैको स्वास्थ्य परीक्षणसहित औषधि समेत वितरण गरिएको थियो।

‘स्वच्छ, सफा, समृद्ध सुन्दर – महालक्ष्मी नगर’ भन्ने नाराका साथ नगरपालिकाले चालू आर्थिक वर्ष २०७८७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सो कामलाई छिट्टै अघि बढाउने प्रतिबद्धताअनुरूप थालनी गरेको हो।

श्रेष्ठले नगर सभामार्फत नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सबै सामुदायिक विद्यालयमा ‘विद्यालय नर्स घुम्ती सेवालाई निरन्तरता’, वडा नम्बर ८ लुभु प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शय्याको अस्पतालमा स्तरोन्नतिका लागि व्यवस्था तथा वडा नम्बर ९ लामाटारमा ५० शय्याको सरुवा रोग अस्पताल स्थापनाका लागि पहल गर्नाका साथै वातावरण प्रदूषण गर्ने उद्योगको स्थापना एवं सञ्चालनमा रोक र हरेक घरमा हरियाली तथा पोषण प्रवद्र्धन गरिने बताए ।

नगरपालिकामा सामाजिक सुरक्षा भत्ता खाने कूल २ हजार २१० नागरिक रहनाका साथै निवृत्तिभरणको सेवा तथा सुविधा समेत लिने गरी करीब ३ हजार ज्येष्ठ नागरिक रहँदा मात्र ७० वर्ष कटेकाले महिनाको एकपटक निःशुल्क स्वास्थ्य परीक्षण गर्न पाउने जानकारी गराइएको छ ।

कार्यक्रममा प्रमुख श्रेष्ठ अनि उपप्रमुख थापासहित प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा, शिक्षा शाखा प्रमुख चिरञ्जीवी पौडेल तथा केही वडाध्यक्ष र नगरपालिकाका स्वास्थ्यकर्मीसहित कर्मचारीको पनि उपस्थिति थियो।

More News last news
Loading...