नीलकण्ठ नगरपालिका : बजेट वितरणमा चरम असमानता, नगरवासी निराश

धादिङ बेसी । नीलकण्ठ नगरपालिकाको यो वर्षको रातो किताब (योजना पुस्तक) सार्वजनिक भएसँगै जनतामा मेयरप्रतिको आक्रोश बढेको छ । नगरपालिकाको रातो किताब (योजना पुस्तक) साउन महिनाभित्रै निकालिसक्नुपर्ने भए पनि असोज महिनामा मात्रै निकालिएको छ।

नगर प्रमुखले गत वर्षजस्तै यस वर्ष पनि असमान योजना वितरण गरेको योजना पुस्तकमा देख्न र अध्ययन गर्न सकिन्छ। यस वर्ष नगरपालिकाले आफ्नो वडाहरूलाई प्रति वडा पूर्वाधार निर्माणतर्फ ५० लाख, पूर्वाधारजन्य मर्मतसम्भारतर्फ १६ लाख र लक्षित वर्ग कार्यक्रम तर्फ ४ लाख गरी जम्मा ७० लाखको योजनामात्रै विनियोजन गरेको छ।

Advertisement

धादिङ जिल्लाको सदरमुकाम रहेको वडा नीलकण्ठ ३ मा यस वर्ष काम गर्न पाउने गरी वडाको बजेटबाहेक नगर प्रमुखले १ करोड २१ लाख ९० हजारको बजेटको दर्जनभन्दा बढी योजना छुट्याएका छन् । अरु वडाहरूभन्दा सम्पन्न वडाका रूपमा परिचित यस वडामा यत्रो रकम छुट्याउन आफैंमा आश्चर्यजनक छ।

नीलकण्ठ नगरपालिकाको विकट वडाको रूपमा परिचित नीलकण्ठ ११ मा यो आर्थिक वर्षभित्र काम गर्न पाउने गरी नगर प्रमुखले जम्मा एउटामात्र योजना (शंखादेवी ग्राउन्ड निर्माण ५ लाख) समावेश गरेका छन्।

यो बजेट, योजना वितरण सामजिक आवश्यकताभन्दा पनि पूर्वाग्रही मानसिकताको उपज रहेको स्थानीयले जानकारी दिए । यस वडा नेत्रावती डबजोङ गाउँपालिका र आँखु नदीसम्म फैलिएको छ। वडाभित्र गर्नुपर्ने काम धेरै रहेको तर त्यसमा नगर प्रमुखले ध्यान दिन नसक्दा वडाको अवस्था दर्दनाक रहेको स्थानीयले नयाँ पुस्तालाई बताए। यो वडा नगरपालिकाबाट कम बजेट राखिने वडाको पहिलो नम्बरमा रहेको छ।

त्यस्तै विकट वडाको रूपमा परिचित अर्को वडा हो नीलकण्ठ-५ जुन नुवाकोट जिल्लासँग सीमा क्षेत्र रहेको छ । यस वडामा पनि नगर प्रमुखले जम्मा ६ लाख ५० हजार रकम बराबरका जम्मा २ वटा मात्रै योजना समावेश गरेका छन् । सिफरिसको रकम असुल्दा चाहिँ सबै वडाका नागरिकले एकरूपतामा रकम तिर्नुपर्ने तर योजना वितरण प्रणालीमा भने चाहिँ एकरूपता नहुनाले जहाँ घाउ हुनु त्यही नुनचूक छर्कनूजस्तै भएको एक स्थानीय बताउँछन्।

वडाहरूमा यातायातको साधन वर्षायाममा २ देखि ३ महिना प्रत्येक वर्ष सडक अबरुद्ध हुन्छ । सडकलाई १२ महिनै सुचारु गराउनेमा कसैको चासो छैन । बजेट वितरणमा आकाश-जमिनको फरक छ। नगर प्रमुखको भाषणमाजस्तै काममा देखिए धेरै बृद्धबृद्धा, बालबालिका, अपांग, सुत्केरीले समयमै उपचार पाउँथे। कोही अल्पायुमा मृत्युवरण गर्न नपर्ने स्थानीय बताउँछन्।

सदरमुकामदेखि दूरीका हिसाबले टाढा रहेको र वडा नम्बर १३ को पनि ५ नम्बरकोजस्तै पीडा छ जहाँ जम्मा १२ लाख बराबरको बजेटमा जम्मा ३ वटामात्रै योजना समावेश गरिएको छ। जसमा नगर प्रमुखले कम बजेट राख्ने वडाहरूमध्ये तेश्रो नम्बरमा यो १३ नम्बर वडा परेको छ । ७ नम्बर वडाको अवस्था पनि त्यस्तै छ । जहाँ ३२ लाख ५ हजार रकमको योजना राखेको छ।

नगर प्रमुखले आफ्नो वडा नीलकण्ठ ८ मा भने धेरै बजेट राख्ने वडामध्येबाट दोश्रो नम्बरमा राखेका छन् । जहाँ ८४ लाख बराबरको करीब दर्जन योजना समावेश गरेका छन्। नीलकण्ठ नगरपालिकाको यो बजेट वितरण प्रणाली जहाँ गहिरो त्यहीँ ताल भन्ने कुरालाई चरितार्थ गरेको छ ।

जुन वडा सुगम छ त्यहाँ करोड बजेट (योजना जहाँ विकट छ त्यहाँ बजेट) योजना कम देखिएको छ। यसरी गरिएको योजना वितरण प्रणालीले के साँच्चै नगरपालिकको समग्र दीर्घकालीन विकास होला त ? नगरबासीहरू प्रश्न गर्छन्।

More News last news
Loading...