काठमाडौँ । श्रीमान र श्रीमतीबीचको झगडा मिलाउन खोज्दा मोरङको मिक्लाजुङमा एक पुरुषको हत्या भएको छ। मिक्लाजुङ गाउँपालिका–७ का ४३ वर्षीय धनराज लिम्बूको हत्या भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।
मिक्लाजुङ–६ का ३३ वर्षीय रविन तामाङ र उनका भाइहरु ३० वर्षीय आइतराज एवं २६ वर्षीय सञ्जय तामाङसहितले आक्रमण गरेको दुई दिनपछि लिम्बूको मृत्यु भएको श्रेष्ठको भनाइ छ।
उनका अनुसार मिक्लाजुङ–७ भण्डारी टोलमा डेरा गरेर बस्दै आएका रविन र उनकी श्रीमती निरुताबीच झ ग डा भएको सुनेपछि लिम्बू भदौ ३ गते राति ८:४० बजेतिर घटनास्थलमा पुगेका थिए।
झगडा भएको सुनेपछि रविनका जेठान ४० वर्षीय भाग्य बम्जन (तामाङ) आफ्नो मासु पसलमा आएका छिमेकीहरु ५५ वर्षीय दुर्गाबहादुर कार्की र लिम्बूलाई लिएर बहिनी–ज्वाईंको डेरामा गएको खुलेको छ।
मिलेर बस्न र परिवारमा झगडा नगर्न भनेर सम्झाउने क्रममा रविन, आइतराज र सञ्जयसहितले लिम्बू र कार्कीमाथि दाउराले कुटपिट गरेको डीएसपी श्रेष्ठको भनाइ छ।
उनका अनुसार पारिवारिक विवादमा बाहिरका मान्छे प्रवेश गरेको भन्दै सामूहिक रूपमा आक्रमण गरिएपछि गम्भीर घाइते भएका लिम्बूको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा गय राति ११:४५ बजेतिर मृत्यु भएको हो।
कुटपिटबाट सामान्य घाइते हुनु भएका दुर्गाबहादुर भने उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ।
घटनामा संलग्नलाई पक्राउ गरेर कर्तव्य ज्यान मुद्दा चलाउन घटनाको अनुसन्धान थालिएको डीएसपी श्रेष्ठले जानकारी दिए।रविनका जेठान भाग्यलाई पनि नियन्त्रणमा लिएर घटनाका बारेमा सोधपुछ गर्ने काम भइरहेको प्रहरीको भनाइ छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
