काठमाडौँ । कोरोना संक्रमणको दोस्रो लहरसँगै बन्द गरिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल चालु महिनाको अन्तिम साताबाट खुल्ने भएको छ। यसका लागि तयारी भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ।
मातहतका कार्यालयहरुसँग आगामी आइतबार (साउन २४ गते) छलफल गरेपछि ट्रायल खुलाउने योजना रहेको विभागका महानिर्देशक नमराज घिमिरेले बताए। ‘गत साता नै योजना थियो तर प्रदेश मातहतका कार्यालयहरुले मन्त्रालयसँग समन्वय नगरी खोल्न सक्दैनौ भनेपछि रोकिएको थियो,’ उनले भने।
कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा पूर्णरूपमा हट्न बाँकी नै रहेकाले ट्रायल खुलाउन नसकिने यातायात कार्यालयहरुले बताएका थिए। ‘निषेधाज्ञा पूरै नहटे पनि अन्य परीक्षाहरु समेत संचालन हुन थालिसके। जसरी पनि हामी साउन अन्तिम साता सूचना नै निकाल्छौं,’ महानिर्देशक घिमिरेले भने, ‘त्यसका लागि तयारी भइरहेको छ।’
गाडी चलाउने लाइसेन्स लिन अनलाइन आवेदन दिएर करिब ५ लाख सेवाग्राही ट्रायल परीक्षाको प्रतीक्षामा छन्। विभागले कोटा प्रणाली हटाएर अनलाइन आवेदन ‘अनलिमिटेड’ बनाइदिएका कारण ठूलो संख्यामा सेवाग्राहीले आवेदन दिएका हुन्।
अहिले अनलाइन आवेदन पनि बन्द गरिएको छ। ट्रायल खुल्ने टुंगो लागेपछि अनलाइन आवेदन पनि खुलाउने तयारीमा विभाग छ। सुरुमा आवेदन दिएका सेवाग्राहीले पहिलो प्राथमिकता पाउनेछन्।
त्यस्तै अब ट्रायल परीक्षा संचालनका लागि समेत कोटा हट्ने भएको छ। यसअघि कार्यालयहरुलाई विभागले कोटा तोकिदिने गरेको थियो। ‘अब कुनै कोटा तोकिदैन। कार्यालयहरुले जति सक्छन्, त्यही अनुसार संचालन गर्न सक्छन्। त्यसको अधिकार उहाँहरुलाई नै छ,’ महानिर्देशक घिमिरेले भने, ‘एक दिनमा ५ सय जनाको लिने हो कि ५ हजार जनाको लिने हो, त्यो उहाँहरुकै विषय भयो। त्यसका लागि विभागले केही गर्न आवश्यक छैन।’
अब ट्रायल परीक्षा खुलेपछि सुधारिएको नयाँ व्यवस्था लागु हुने उनले बताए। विद्यमान लाइसेन्स परीक्षा प्रणालीमा शतप्रतिशत अंक ल्याए मात्रै पास हुने व्यवस्था छ। उक्त प्रणालीलाइ सहज बनाउदै ७० प्रतिशत अंक ल्याए पास हुने व्यवस्था लागु हुनेछ।
सुधारिएको प्रणाली अनुसार ट्रायलका दौरान समावेश हुने विभिन्न पक्षलाई आधार मानेर अंक दिइने छ। जस्तै, ट्राफिक लाइट, उकालो(ओरालो, स्पिड ब्रेकर, पार्किङ लगायतलाई आधार मानेर तिनीहरुका लागि अलग अलग अंक छुट्याइने छ। जसबाट ७० अंक ल्याउने ट्रायल पास हुनेछन्। निषेधाज्ञा खुकुलो भएर यातायात कार्यालयहरुले पुनः सेवा सुरु गरेको भए पनि तीन महिनादेखि बन्द रहेको ट्रायल नखुल्दा फारम भरेर पर्खेकाहरु हैरान छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
