अमेरिकालाई उछिनेर चीन विश्वको ‘सुपरपावर’ बन्ने विशेषज्ञको दावी

काठमाडौँ । चीनले आउँदो दशकभित्रै अमेरिकालाई सैन्य क्षमता र आर्थिक शक्तिमा पछि पार्दै विश्वको सुपर पावर बन्ने विशेषज्ञहरुले बताएका छन्।

२ दिनअघि चीनको सत्ताधारी कम्युनिस्ट पार्टीले स्थापनाको १०० वर्ष पूरा गरेको अवसरमा राष्ट्रपति शी जिनपिङले पश्चिमी शक्तिहरुतर्फ लक्षित गर्दै चीनलाई धम्क्याउन प्रयास गरिरहेका विदेशी शक्तिहरुको ‘टाउको फुट्ने’ चेतावनी दिएका थिए । र, विशेषज्ञहरु पनि चीन अब विश्वको सर्वाधिक शक्तिशाली देश बन्नेतर्फ अघि बढिरहेको स्वीकार गर्छन्।

Advertisement

लण्डनको किंग्स कलेजको ला चाइना इन्स्टिच्युटका प्रोफेसर केरी ब्राउन चीन अमेरिकालाई उछिनेर आर्थिक ‘पावरहाउस’ बन्ने दिशातर्फ अघि बढिरहेको बताउँछन् ।

‘आर्थिक रुपमा चीन आउँदो दशकमै विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्था बन्नेछ’ उनले द सनसँग भने ‘यो चिनियाँ विशेषतासहितको सुपरपावर बन्नेछ जसको अर्थ उसले आफ्नो महत्वाकांक्षाको लागि विश्वमा प्रमुख स्थान खोज्नेछ तर बाँकी विश्वको लागि नेतृत्व लिन भने चाहने छैन। भविष्यमा देशहरुबीचको सम्बन्ध रोचक बन्न सक्छ किनकि चीन पश्चिमी देशहरुजस्तो बन्न चाहँदैन र पश्चिम आफूजस्तो बनोस् भन्ने पनि चाहँदैन ।’

पछिल्लो समय चीनले पश्चिमी देशहरुको शंका र दावीका बीच कोरोनाभाइरसलाई सफलतापूर्वक नियन्त्रण गर्न सक्यो जबकि अमेरिका महामारीबाट सबैभन्दा प्रभावित देश बन्यो जसले चीनको विश्वशक्ति बन्ने यात्रा छोट्याइदियो।

बिहीबार तियानजिन स्क्वायरबाट सम्बोधन गर्दै राष्ट्रपति जिनपिङले चीनका जनताले कहिल्यै पनि विदेशी शक्तिले आफूहरुलाई धम्क्याउन वा दबाब दिन नदिने बताए।

अर्कोतर्फ यसै साता अर्का शक्तिशाली समकक्षी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि विश्वको नम्बर १ सुपरपावरको रुपमा अमेरिकाको हालिमुहाली समाप्त भएको बताए।

‘यदि कसैले पनि चीनलाई धम्क्याउने प्रयास गर्छ भने उसको टाउको १।४ अर्ब चिनियाँ जनताले बनाएको फलामको ग्रेट वालमा ठोक्किनेछ’ जिनपिङले तियानजिन स्क्वायरबाट भने।

जिनपिङले अब देशले स्वाधीनता, सुरक्षा र विकासको रक्षा गर्नको लागि राष्ट्रिय सुरक्षा र सशस्त्र बललाई आधुनिकीकरण गर्नुपर्ने र तिनीहरुलाई विश्वस्तरीय बनाउनुपर्ने बताए।

अहिले चीनको जनमुक्ति सेनाको बजेट अमेरिकापछि दोस्रो ठूलो छ। तर पछिल्लो समय चीनले आक्रामक रुपमा सैन्य शक्ति बढाइरहेको छ।

More News last news
Loading...