काठमाडौँ । मोडल तथा कलाकार निशा घिमिरेको अवस्थामा सुधार भइरहेको छ। घिमिरेको अहिले नर्भिकका प्रबन्ध निर्देशक मेघा चौधरीले उद्धार गरी नर्भिक अस्पतालमा उपचार जारी छ।
दुर्घटनामा परेर तीन वर्षदेखि मृत्यु शैयामा छटपटाइरहेकी कलाकार घिमिरेको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्। चौधरीले घिमिरेको जेठ २७ गते उद्धार गरेकी थिइन्। हाल नर्भिकले उनलाई विशेष उपचार कक्षमा राखेर उपचार गरिरहेको छ।
उद्धार गरेर ल्याएको भोलिपल्टदेखि नै उचित उपचार, आहारविहार र केयरिङ पाएका कारण कलाकार निशाको मुहारमा चमक देखिएको थियो। अस्थिपञ्जर मात्रै बाँकी रहेको जस्तो देखिने उनको शरीरका घाउहरु निको हुन थालेका छन् भने अन्य स्वास्थ्य अवस्थामा पनि सुधार भइरहेको छ।
हाल नर्भिक अस्पतालले ह्विलचेयर थेरापी, म्युजिक थेरापी लगायतका विभिन्न विधिबाट उनको उपचार गरिरहेको छ। डा पंकज जलान नेतृत्वको टिमले उनको उपचार गरिरहेको छ।
अस्पतालमा आउँदा चलन नसक्ने उनी चलमलाउन थालेकी छिन्। बुझेजस्तो गरी शरीर तथा अनुहार र आँखाको हाउभाउबाट प्रतिक्रिया समेत दिन थालेकी छिन्। उनले पछिल्लो समय बोल्ने समेत कोशिस गरिरहेकी छिन्।
उपचारका संलग्न स्वास्थ्यकर्मीहरुका अनुसार भोक लाग्दा संकेत दिनेसम्मको भएकी छिन् । ‘उहाँ भोक लाग्यो भने कराएजस्तो गर्नुहुन्छ।’ उपचार संलग्न चिकित्सहरु भन्छन्, ‘क्रमशः अवस्थामा सुधार भइरहेको छ।’
उनले सोझै खाना खान भने सकेकी छैनन्। पाइपमार्फत खाना दिइने गरिएको छ। डा जलानले निशाको स्वास्थ्य अवस्थामा सुधार भइरहेको बताएका छन्। उनले नर्भिकले सकेसम्म सबै विकल्पमा गएर उनको उपचार गरिरहेको समेत बताए।
जलानका अनुसार दुर्घटनाका कारण घिमिरेको ब्रेन इञ्जुरी भएको र त्यसको अवस्था निकै जटिल रहेकोले पूर्ण रुपमा नर्मल हुने संभावना भने न्यून छ।
तीन वर्षअघि अभिनयको कोर्स पढ्न उनी भारत गएकी थिइन्। त्यहाँ भएको सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन्। दुर्घटना लगत्तै उनको भारतकै अस्पतालमा उपचार गरिएको थियो। तर, त्यहाँको अस्पतालको उपचार महङ्गो भएपछि कमजोर आर्थिक अवस्थाका उनका बुबाआमाले छोरीलाई नेपालमै ल्याएका थिए।
काठमाडौँमा ल्याएर ट्रमा सेन्टरमा राखेर ३ महिनासम्म उपचार गरिएको थियो। तर, उनको अवस्थामा सुधार हुन सकेन। त्यसपछि चिकित्सकहरुकै सल्लाहअनुसार उपत्यकाका विभिन्न क्षेत्रका थेरापी सेन्टरहरुमा कलाकार घिमिरेको लगातार थेरापी गरिएको थियो।
नियमित थेरापी गर्न समेत आर्थिक अभाव भएको र त्यही बीचमा कोरोनाको संक्रमण समेत बढेपछि उनी घरमै थन्किएकी थिइन्। यो अवधिमा निशाको अवस्थाको बारेमा समाचारहरु समेत प्रकाशन भएका थिए। नर्भिकले उनको उद्धार गरेपछि उनलाई आर्थिक सहयोग गर्नेहरुको समेत लहर नै चलेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
