दोहा । ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा सहभागी हुनका लागि डिजिटल अडिसन पठाउने मिति ३० अप्रिलसम्म बढाइएको छ।
ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ आयोजक गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व युवा समितिका संयोजक राज रेग्मीका अनुसार प्रतियोगिताको आयोजनाको तयारी र प्रतियोगीहरुको सुझावलाई दृष्टिगत गरी डिजिटल अडिसनको समय थपिएको हो ।
‘ग्लोबल सिंगिङ आइडलको तयारी भइरहेका बेला सबै क्षेत्रको सुझावका आधारमा अडिसनको मिति केही परिमार्जन गरिएको हो, साथै प्रतियोगिताका विजेताहरूले प्राप्त गर्ने पुरस्कार रकम पनि वृद्धि गरिएको छ,’ रेग्मीले भने ।
ग्लोबल एनआरएन आइडलका विजेताले प्राप्त गर्ने पुरस्कार राशि ३ गुणाभन्दा धेरै बढाएर ७ लाख रुपैयाँ तय गरिएको रेग्मीले बताए । यसअघि डिजिटल अडिसन अप्रिल १० तारिखका लागि तय भएको थियो र, प्रथम पुरस्कारको राशि २ लाख रुपैयाँ तोकिएको थियो ।
त्यसैगरी, दोस्रो पुरस्कार चार लाख रुपैयाँ, तेस्रो पुरस्कार दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौं पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ । ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीहरूलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिने छ ।
मध्यपूर्व युवा संयोजक रेग्मीका अनुसार डिजिटल अडिसन अप्रिल ३० मा हुने छ । ओपनिङ राउन्ड मे १४ र १५ तारिखमा हुने छ । ग्राण्ड फिनाले मे २१ तारिखमा सम्पन्न हुने रेग्मीले बताए ।
ग्लोबल सिंगिङ आइडल–२०२१ का निर्णायकहरू
ग्लोबल सिंगिङ आइडल–२०२१ मा निर्णायकको भूमिकामा गायक उदय सोताङ, गायिका सुनिता दुलाल, गायिका प्राश्ना शाक्य र गायक विजय लामा रहेका छन् ।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् मध्यपूर्व क्षेत्रीय युवा समितिद्वारा आयोजना गर्न लागिएको ग्लोबल एनआरएन सिंगिङ आइडलमा सहभागी हुन इच्छुक प्रतियोगीहरूले भिडियो पठाइरहेका छन् ।
‘प्रतियोगितामा विश्वभरिबाट सहभागी गराउनका लागि समयावधि बढाउनु पर्ने अनुरोध आयो, सोही सुझावलाई दृष्टिगत गर्दै समयावधिसहित कार्यक्रमको गरिमालाई थप वृद्धि गर्न मिति परिवर्तनसहित पुरस्कारको राशि बढाइएको हो,’ रेग्मीले भने ।
विजेता छनोट गर्न पारदर्शितामा ध्यान दिनु पर्ने भएकाले पब्लिक भोटिङ र अनलाइन भोटिङको व्यवस्था गरिएको संयोजक रेग्मीले जानकारी दिए ।
गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व संयोजक एवं ग्लोबल सिंगिङ आइडलका मुख्य सहयोगी प्रविण गुरुङले प्रवासमा रहेका नेपालीहरूको उत्साहजनक सहभागिताका लागि समय थप गरिएको उल्लेख गरे ।
गुरुङले प्रतियोगीहरूलाई थप गरिएको समयलाई अभ्यास गर्ने अवसरको रुपमा प्रयोग गरी तयारी तीव्र पार्न अनुरोध पनि गरेका छन् ।
गैरआवासीय नेपाली संघका अध्यक्ष एवं ग्लोबल सिंगिङ आइडलका प्रमुख सल्लाहकार कुमार पन्तले प्रवासमा रहेका दोस्रो पुस्ताका नेपालीका लागि यो प्रतियोगिता कोशेढुंगा सावित हुन सक्ने विश्वास व्यक्त गरेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
