वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाका सबै वयस्क नागरिकलाई आगामी अप्रिल १९ तारिखदेखि कोरोनाका विरुद्धको खोप लगाइने घोषणा गरेका छन् ।
अमेरिकाको अलेक्जेन्डेरिया र भर्जिनियामा खोप निर्माण भइरहेका स्थानहरुको भ्रमण गरेपछि बाइडेनले मंगलबार यो घोषणा गरेका हुन् ।
यसअघि उहाँले आगामी मे १ तारिखदेखि अमेरिकाका सबै जना नागरिकलाई खोप दिइने घोषणा गरेका थिए । उनकाअनुसार अमेरिकामा गएको ७५ दिनमा यहाँका कम्तीमा पनि १५ करोड डोज खोप लगाइ सकिएको छ।
तर पनि यस समयभित्रमा यहाँ खोप लगाउन शुरु गरिएको १०० दिन भित्रमा २० करोड खोप दिइसक्नुपर्ने लक्ष्य लिइएको थियो ।
राष्ट्रपति बाइडेनले आगामी मे महिनासम्ममा यहाँ अझै महामारीको अवस्था बढ्ने कुरा विज्ञहरुले भनेकाले अझ सतर्क र सुरक्षित रहन पनि आग्रह गरेका छन् ।
उनले भनेका छन्– हामीले आगामी दिनमा अझै अप्ठेरो परिस्थितिको सामना गर्नुपर्ने अवस्था पनि आउन सक्छ त्यसैले थप सजग बनौँ, मास्क लगाउँ र जनस्वास्थ्यका मापदण्डहरु राम्रोसँग पालना गरौँ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
