नयाँ वर्ष २०७८ मा तीन वटा दशैँ, चैत्र शुक्ल र आश्विन शुक्ल पक्षको दशैँको विशेष महत्व

काठमाडौँ । आगामी वर्ष अर्थात् वि.सं. २०७८ मा तीन वटा दशैं परेको छ। यो वर्ष चैत्रमा पर्ने दशैं गत असोजमा परेको मलमास (अधिक वर्ष) का कारण आगामी वर्ष वैशाख ७ गतेको परेकाले २०७८ सालमा तीन वटा दशैं पर्ने भएको हो।

विसं २०७८ वैशाख ७ गते मंगलवार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।

Advertisement

यसैगरी विसं २०७८ को चैत २६ गते शनिबार पनि अर्को चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैं परेको छ। बडादशैंका रूपमा मनाइने आश्विन शुक्ल पक्षको दशैँ आगामी वर्ष असोज २१ गते बिहीबार घटस्थापना गरेर शुरु हुने भएको छ।

असोज २७ गते बुधबार महाअष्टमी, असोज २८ गते बिहीवार महानवमी र असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ ।

कार्तिककृष्ण पक्षमा शुरु भएर शुक्ल पक्षमा सकिने तिहार कात्तिक १६ गते मंगलवारदेखि शुरु हुनेछ। दशैं र तिहारलाई नेपालमा विशेष रूपमा मनाइन्छ। लक्ष्मीपूजा कात्तिक १८ गते बिहीवार र भाइटीका कात्तिक २० गते शनिबार परेको छ।

चैत्र शुक्ल र आश्विन शुक्ल पक्षमा पर्ने दशैँलाई वैदिक सनातन धर्मावलम्बी नेपालीले ठूलो चाडका रूपमा मनाउँछन् ।

शक्तिको आराधना गर्न वर्षमा चार नवरात्र पर्ने भए पनि चैत्र शुक्ल र आश्विन शुक्लको दशैंलाई नेपालीले महत्वका साथ मनाउने गरेको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन्।

वर्षमा चारपटक अर्थात् चैत, असार, असोज र पुस महिनाको शुक्ल पक्षमा देवीको आराधना गर्ने नवरात्र पर्छ। असार र पुसमा पर्ने नवरात्रमा साधकले साधना गर्ने गरे पनि आमरूपमा मनाउने परम्परा छैन।

More News last news
Loading...