काठमाडौँ । म्यानमारमा भएको सैन्य ‘कू’ पछि जारी विरोध प्रदर्शनमा २० वर्षीया महिला म्या त्वे त्वे काइङ्गको ज्यान गएको छ।गएको केही हप्तादेखि जारी विरोध प्रदर्शनमा पहिलो पटक कुनै प्रदर्शनकारीको ज्यान गएको हो।
गएको हप्ता विरोध प्रदर्शनका भाग लिएकी म्या त्वे त्वे काइङ्ग प्रहरीले चलाएको गोली टाउकोमा लागेर घाइते भएकी थिइन्।
प्रदर्शनकारीलाई तितरबितर बनाउन म्यानमारमा प्रहरीले पहिला पानीको फोहोरा र रबरको गोली पनि चलाएको थियो।
म्यानमारमा सैन्य ‘कू’ पछि लगातार विरोध प्रदर्शन जारी छ । सेनाले म्यानमारकी नेशनल डेमोक्रेसी पार्टी (एनएलडी) की नेतृ आङ सान सुकीको नेतृत्वको सरकारबाट सत्ता हत्याउँदै ‘कू’ गरेको थियो।
विरोध प्रदर्शनका क्रममा घाइते भएकी ती महिलाको नेपिडावको अस्पतालमा ज्यान गएको हो। म्यानमारको सेनाले यही फेब्रुअरी १ तारिखका दिन देशका धेरै नेतालाई नियन्त्रणमा लिएर शासन सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको थियो।
सेनाले नेताहरूलाई नियन्त्रणमा लिएर आफै चुनाव गराउने भन्दै एक वर्षका लागि सङ्कटकालसमेत घोषणा गरेको छ।
गएको नोभेम्बरमा भएको चुनावमा धाँधली भएको भन्दै सेनाले असन्तुष्टि जनाउँदै आएको थियो। म्यानमारमा भएकौ सैनिक ‘कू’ को विभिन्न देशले विरोध जनाइसकेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
