काठमाडौँ । छालाले शरीरको पूरै भाग ढाकेर राखेको हुन्छ। गर्मीयाममा सूर्यको किरण निकै तेजिलो हुने भएकाले शरीरको खुला भागमा सन बर्न हुने, दाग बस्नेलगायतका समस्या आउन सक्छन्।
त्यसैगरी अहिले सहरको धुलो र धुवाँले गर्दा छालामा धेरै असर पर्नसक्छ। धुलोले गर्दा छाला चिलाउने र गहिरो घाउ बनेर दागसमेत बस्ने सम्भावना हुन्छ।
गर्मीयाममा शरीरमा पानीको मात्रामा कमी हुने गर्छ। यही कारणले गर्दा छालामा चाउरी पर्ने र छालाको चमकसमेत हराउँदै जान्छ। यस्तो अवस्थामा जति नै महँगा सौन्दर्य प्रसाधनका सामग्री प्रयोग गरे पनि फाइदा नहुन सक्छ।
त्यसैगरी पार्लरमा गएर छालाको उपचार गराउँदा क्षणिक राम्रो देखिए पनि यसले दीर्घकालीन रूपमा कुनै फाइदा नहुने देखिन्छ।
त्यसैले जाडो होस् या गर्मी, आफ्नो छालालाई घरमै नियमित हेरचाह गर्यो भने छाला स्वस्थ र चम्किलो हुन्छ।
महँगा सौन्दर्य सामग्रीले गर्न नसक्ने काम घरमै पाइने विभिन्न सामग्री र त्यसबाट बनाइएका घरेलु प्याकले गर्न सक्छ। अनुहार गोरो बनाउन विभिन्न घरेलु प्याकहरू बनाउन सकिन्छ।
बदाम प्याक
मधेसी बदामका केही दानालाई रातभरि पानीमा भिजाउने । भोलिपल्ट बिहान बदामलाई पिसेर मसिनो बनाउने। त्यसमा थोरै दूध हालेर लेदो बनाउने।
उक्त लेदोलाई अनुहारमा लगाएर १५ मिनेटजति पखाल्ने। यसले अनुहारको छालालाई पोषण प्राप्त भई छाला सुन्दर र चम्किलो हुन्छ।
तुलसीको प्याक
तुलसीको प्याक सूर्यको हानिकारक किरणबाट छालामा पर्ने नकरात्मक प्रभाव कम गर्न लाभदायक मानिन्छ। तुलसीको पातलाई राम्रोसँग पिसेर त्यसको लेदोलाई अनुहारमा दलेको केही बेरपछि मनतातो पानीले अनुहार पखाल्नु पर्छ।
पुदिना प्याक
पुदिनाका पातलाई टिपेर राम्रोसँग पिस्ने । त्यसपछि यस लेपमा बेसारको धुलोलाई मिसाउने। अनुहारलाई मनतातो पानीले धोएर त्यसमा पुदिनाको लेप लगाउने। करिब १५ मिनेटजति त्यत्तिकै राखेपछि चिसो पानीले अनुहार पखाल्दा ताजापन महसुस हुन्छ।
काँक्रोको प्याक
काँक्रो खाँदा स्वास्थ्यका लागि जति फाइदाजनक हुन्छ, यसको गुदी पनि त्यतिकै लाभदायक हुन्छ। काँक्रोको गुदी निकालेर लेदो बनाई अनुहारमा दलेर दस मिनेटजति त्यत्तिकै राखेर चिसो पानीले अनुहार पखाल्नु पर्छ। यसले पनि ताजापनको अनुभूती गराउनुका साथै छालामा चमक दिन्छ।
गोलभेडा प्याक
गोलभेडाको गुदीमा एक चम्चा मह मिसाएर अनुहारमा लगाउने । करिब १० मिनेटपछि त्यसलाई सफा पानीले पखाल्ने। यो प्याक तैलीय छालाका लागि उत्कृष्ट हुन्छ। सूर्यका हानिकारक किरणको असरस्वरूप छालामा देखा पर्ने सन बर्न र दागहरू हटाउन यो प्याकले सहयोग पुर्याउँछ।
केराको प्याक
एउटा सिंगो केराको आधा भागमात्रै लिने र त्यसलाई एउटा कचौरामा हालेर राम्रोसँग मिच्ने । त्यसमा एक चम्चा मह र दुई चम्चा क्रिम हालेर राम्रोसँग फिट्ने । यस प्याकलाई अनुहारमा लगाएको १० मिनेटपछि चिसो कपडाले पुछ्ने ।
मेवाको प्याक
प्रायः सबै फलफूलका प्याक अनुहारमा लगाउँदा फाइदाजनक हुन्छ । राम्रोसँग पाकेको मेवालाई पिसेर त्यसको लेपलाई अनुहारमा लगाउने। केही बेर राखेर सुकेपछि मन तातो पानीले अनुहार पखाल्ने।
अन्डा प्याक
अन्डाको सेतो भागमा आधा चम्चा कागतीको रस हालेर राम्रोसँग फिट्ने। यस लेपलाई अनुहारमा लगाएको २० मिनेटपछि सफा पानीले अनुहार पखाल्ने गर्नुपर्छ।
जौको प्याक
जौको पीठो र दही मिसाएर बनाइएको प्याकलाई अनुहारमा लगाउने। करिब आधा घन्टापछि मनतातो पानीले अनुहार पखाल्नाले छाला सुक्खा हुने समस्याबाट छुट्कारा पाउन सकिन्छ।
बेसन प्याक
महलाई मनतातो बनाएर बेसनको पीठोमा मिसाउने। यो मि श्रणलाई अनुहारमा लगाएर २० मिनेटजति राखेपछि चिसो पानीले पखाल्ने।
यी प्याकको प्रयोगबाहेक नियमित रूपमा छालालाई सफा पानीले पखाल्ने गर्नाले पनि छाला स्वस्थ हुन्छ। बजारमा पाइने जस्तो पायो त्यस्तै फेस वास लिएर प्रयोग गर्नु त्यति राम्रो हुँदैन।
अनुहारमा रहेका मृत छाला हटाउन सातामा एकपटकजति स्क्रब प्रयोग गरेमा छाला सुन्दर र चम्किलो हुँदै जान्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
