स्मृति केवल सम्झनामा सीमित रहेन, समाजसेवामा पनि रूपान्तरण भयो। ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा राष्ट्रिययुवा संघ नेपाल, जिल्ला कमिटी स्याङ्जाले आयोजना गरेको वृहत् रक्तदान कार्यक्रममा ८२ जनाले स्वेच्छिक रक्तदान गर्दै ८२पिन्ट रगत संकलन गरेका छन्।
पुतलीबजारमा आयोजित कार्यक्रमको उद्घाटन आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेलले रक्तदान गरेर गरेकाथिए। राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष विनय शाहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उनले पुष्पलाल श्रेष्ठको विचारलाई समाजसेवासँग जोड्नु नै सच्चा सम्मान भएको उल्लेख गर्दै रगतको अभावमा कुनै बिरामी उपचारबाट वञ्चित नहोस् भन्ने उद्देश्यले यस्ता अभियानलाई निरन्तरता दिइएको बताए। साथै, युवाशक्तिले सामाजिक उत्तरदायित्वका अभियानमा अझ सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा नेकपा एमालेका विभिन्न तहका नेता–कार्यकर्ता, राष्ट्रिय युवा संघका पदाधिकारी, सदस्य तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। संकलित रगत जिल्ला अस्पतालको ब्लड बैंकमा भण्डारण गरिनेछ भने कार्यक्रम नेपाल रेडक्रस सोसाइटी, स्याङ्जा जिल्ला शाखाको प्राविधिक सहयोगमा सम्पन्न भएको हो। ‘रक्तदान, जीवनदान’ भन्ने सन्देशलाई व्यवहारमा उतार्दै सम्पन्न उक्त अभियानले युवाहरू सामाजिक सेवामा अग्रसर रहेको सशक्त सन्देश दिएको आयोजकले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
