पाकिस्तानी विमान मलेसियाको कब्जामा

क्वालालम्पुर । पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को एउटा ‘बोइङ्ग-७७७’ विमानलाई मलेसियाले कब्जामा लिएको छ।

क्वालालम्पुर विमानस्थलमा मलेसियाली प्रशासनले उक्त पाकिस्तानी विमान कब्जामा लिएको हो। अधिकारीहरुका अनुसार मलेसियाको एउटा स्थानीय अदालतको आदेशअनुसार सो विमान कब्जा गरिएको हो।

Advertisement

समाचार एजेन्सीहरुका अनुसार पीआईएले विमान भाडामा लिएबापतको रकम नबुझाएका कारण यस्तो कारवाही गरिएको हो। पीआईएले सन् २०१५मा भियतनामको एउटा कम्पनीसँग बोइङ्ग-७७७ विमान भाडामा लिएको थियो।

पाकिस्तानी न्यूज च्यानल ‘जियो टिभी’ले जनाएअनुसार पाकिस्तानी सहर कराँचीबाट मलेसियाको क्वालालम्पुर पुगेको उक्त विमानलाई फर्कन नदिइ मलेसिया प्रशासनले कब्जामा लिएको हो।

क्वालालम्पुरबाट पाकिस्तानतर्फ फर्कनका लागि विमान तयारी अवस्थामा रहेको र यात्रीहरुसमेत विमानमा चढिसकेको अवस्थामा उडान भर्न अनुमति नदिइएको हो।

विमानलाई क्वालालम्पुर विमानस्थलमै रोकिएपछि विमानका चालक दलका १८ सदस्य पनि मलेसियामै बस्नुपरेको छ।

कोभिड–१९ प्रोटोकलअनुसार चालक दलका सबै सदस्यले कम्तीमा १४ दिन क्वारेन्टिन बस्नुपर्ने जनाइएको छ।

पीआईएले ट्वीटरमार्फत उक्त घटनाको पुष्टि गरेको छ। पीआईएका अनुसार मलेसियाको अदालतले एकतर्फी निर्णय सुनाएको आधारमा यो कारवाही गरिएको हो।

एउटा अर्को ट्वीटमा पीआईएले लेखेको छ, ‘पीआईए र अर्को पक्षबीच लन्डनको एउटा अदालतमा मुद्दा चलिरहेको छ, यो एक कानुनी लडाइ हो, जो अझै जारी छ। तर मलेसियाली अदालतले एकतर्फी निर्णय सुनाएको छ, जुन स्थिति स्वीकार्न लायक छैन।’

पीआईएले पाकिस्तान सरकारलाई यसबारे जानकारी गराइएको र कुटनीतिक स्तरमा कुरा उठाउन भनिएको पनि जानकारी दिएको छ।

पीआईएका अनुसार उक्त विमानमार्फत पाकिस्तान आउन टिकट लिएका यात्रीहरुका सम्बन्धमा आवश्यक प्रवन्ध मिलाइएको पनि पीआईएले जनाएको छ।

More News last news
Loading...