दिल्लीमा ८ जनामा देखियो नयाँ प्रकारको कोरोना भाइरस

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा बुधबार आठ जनामा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण देखिएको छ।

त्यसैगरी थप ६ जनामा भने कोलकाता, बैंगलोर र पुनाको प्रयोगशालामा पुष्टि भएको बताइएको छ। योसँगै भारतमा नयाँ भाइरसबाट संक्रमित हुनेहरुको संख्या २० पुगेको छ।

Advertisement

यसअघि मंगलबार मात्र भारत सरकारले ६ जनामा त्यस किसिमको कोरोना भाइरस पुष्टि भएको जनाएको थियो। संक्रमितको संख्या थप बढ्न सक्ने आंशका गरिएको छ।

नयाँ प्रकारको भाइरस पुरानो भाइरसभन्दा ७० प्रतिशतले चाँडै संक्रमित तुल्याउने अनुसन्धानहरुबाट खुलेको छ।

यसकारण पनि नयाँ भाइरसबाट संक्रमितको संख्या बढेसँगै महामारी थप बढ्ने हो कि भन्ने कुराले त्रास र चिन्ता बढाएको छ।

बेलायतमा नयाँ प्रकारको भाइरस देखिएपछि २५ नोभेम्बरदेखि २३ डिसेम्बरसम्म बेलायतबाट आएका ३३ हजार यात्रुलाई निगरानीमा राखेको बताइएको छ।

त्यसैगरी ती यात्रुहरुमध्ये ९ देखि २२ डिसेम्बरभित्र कोरोना लक्षण देखिएका वा पुष्टि भएकाहरुको जिनोम सिक्वेन्सिङ पनि गरिने जनाइएको छ।

नयाँ प्रकारको भाइरसबाट संक्रमित हुने संख्यामा वृद्धि भएसँगै भारतले बेलायतसँगको हवाईसम्पर्कलाई ७ जनवरीसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

यसअघि बेलायतमा नयाँ स्वरूपको कोरोना भाइरसको जीवाणु फेला परेको र त्यो जीवाणु बेलायतभर फैलिसकेको खुलेपछि भारतले बेलायतसँग हवाई उडानमाथि ३१ डिसेम्बरसम्मका लागि मात्र रोक लगाएको थियो।

More News last news
Loading...