काठमाडौं । कोरोना भाईरसको संक्रमण बढेसँगै स्थानीय प्रशासनले धमाधम सेवा प्रवाह स्थगित गर्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय भक्तपुरले आइतबारदेखि लागू हुनेगरी अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गर्ने निर्णय गरेको छ।
पछिल्लो समय काठमाडौं उपत्यकामा कोभिड–१९ को संक्रमणदर अत्यधिक बढिरहेको अवस्थामा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा सेवाग्राहीको भिडभाड अत्यधिक भइ संक्रमण सेवाग्राहीमा समेत फैलन सक्ने उच्च जोखिम रहेका कारण अत्यावश्यक वाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, सबै सरोकारवाला निकाय, स्वास्थ्य विज्ञ, सुरक्षा निकाय समेतसँगको छलफल, परामर्श एवम् निष्कर्षका आधारमा कात्तिक २ गत आइतवारदेखि अर्को सूचना नभएसम्मका लागि जिल्लाभित्र अत्यावश्यक सेवाहरु बाहेकका अन्य सबै सेवा प्रवाह बन्द रहने जिल्ला प्रशासन कार्यालय भक्तपुरले जारी गरेको सूचनामा उल्लेख छ।
यसअघि शुक्रबार जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि आइतबारदेखि लागू हुनेगरी अत्यावश्यक बाहेकको सेवा प्रवाह स्थगित गर्ने निर्णय गरेको थियो। जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने यसबारे केही निर्णय गरेको छैन।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
