डेट एक्सपायर खाद्य वस्तुमा नयाँ मिति, कलङ्कीबाट झण्डै ५ करोड मूल्यका खाद्यवस्तु बरामद

कलङ्की । चाडबाड नजिकिएसँगै मिति सकिएका खाद्य वस्तुमा नयाँ मिति राखेर बजार पठाउने गतिविधिमा केही व्यवसायी सक्रिय भएको पाइएको छ।

अवैध गतिविधिमा विभिन्न चलखेल हुन थालेको सूचना पाएपछि प्रहरीले केही दिनदेखि शङ्कास्पद क्षेत्रमा छापा मारेर त्यस्ता कार्यमा संलग्न केही व्यवसायीलाई पक्राउसमेत गरेको छ।

Advertisement

महानगरीय प्रहरी परिसरका प्रमुख श्यामलाल ज्ञवालीले आज मात्रै काठमाडौँको कलङ्कीबाट झण्डै रु पाँच करोड मूल्य बराबरका त्यस्ता खाद्य वस्तु बरामद गरिएको जानकारी दिए।

मिति सकिएको खाद्य वस्तुलाई नयाँ मिति लगाएर बजार पठाउने तयारी गर्दै गर्दा भण्डारबाटै चार जनालाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक ज्ञवालीले हामीलाई बताए।

उहाँका अनुसार विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई थलोमै पक्राउ गरेको हो।

बन्दाबन्दीका समयमा नबिकेका सामानलाई मिति सच्याएर बजारमा पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ। उनीहरुका साथबाट त्यस्ता स्टिकर, छाप र छाप लगाउने यन्त्रसमेत बरामद गरिएको छ। उनीहरुले चकलेट, बिस्कुट, आँटा, मैदा, तेल, चामल, दाललगायतमा मिति सच्याएको पाइएको छ।

यसअघि पनि प्रहरीको सहयोगमा वाणिज्य विभागले यसैगरी केही व्यवसायीलाई पक्राउ गरेको थियो। यस्ता गतिविधि बजारमा देखिएकाले प्रहरीले निगरानी बढाएको छ।

More News last news
Loading...