प्रदेश ५ : राजधानी र नाममा मतदान गर्ने नेकपाको निर्णय, १४ सांसद्को फरक मत

बुटवल । प्रदेश नं ५ सरकारले शुक्रबार प्रदेशसभामा प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रस्तावका पक्षमा मतदान गर्न सत्तापक्षीय दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ह्वीप जारी गर्ने निर्णय गरेको छ।

मुख्यमन्त्री शङ्कर पोखरेलको सरकारी निवासमा शनिबार बसेको संसदीय दलको बैठकले सरकारका तर्फबाट शुक्रबार प्रदेशसभामा प्रस्तुत स्थायी राजधानी र नामाकरणको प्रस्तावमा मतदान हुँदा अनिवार्य उपस्थित हुन र प्रस्तावका पक्षमा मतदान गर्न ह्वीप जारी गर्ने निर्णय गरिएको नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए।

Advertisement

उनले कसैले पनि संसदीय दलको ह्वीपको उल्लङ्घन गरेमा पार्टी विधानबमोजिम कारवाही हुनेसमेत चेतावनी दिएका छन्।

दलका सचेतक ढकालले पाल्पा, रुपन्देही र कपिलवस्तुका प्रदेशसभा सदस्यले कपिलवस्तुमा राजधानी हुनुपर्ने धारणासहित सरकारको तर्फबाट प्रस्ताव गरिएको विषयमा फरकमत राखेको समेत बताए।

१४ सांसद्को नोट अफ डिसेन्ट

प्रदेश ५ को स्थायी राजधानी र नामका सन्दर्भमा सत्तारुढ दल नेकपाका १४ सांसदले (नोट अफ डिसेन्ट) फरक मत राखेका छन् ।

शुक्रबार प्रदेश ५ को स्थायी राजधानी र नामबारे सदनमा पेश गरेको प्रस्तावबारे निर्णय लिन बसेको नेकपा संसदीय दलको बैठकमा शनिबार केही सांसदले नोट अफ डिसेन्ट लेखेका हुन्।

रुपन्देही, नवलपरासी, पाल्पा र कपिलवस्तुका सांसदले दाङमा राजधानी प्रस्ताव गर्नु गलत भएको बताए।

रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, कमला विश्वकर्मा, तुल्सी चौधरी, विमला पन्थी, दीपा विक, कृष्ण न्यौपाने, थानकुमारी थापा, दधिराम न्यौपानेलगायतका सांसदले असहमति जनाउँदै आफ्ना भनाइ राखेका थिए।

प्रस्तावको विक्षमा हस्तारक्षर गर्नेहरुमा भोजप्रसाद श्रेष्ठ, कृष्णप्रसाद न्यौपाने, दधिराम न्यौपाने, सुनिता ठडेर, विमला पंन्थी, थानकुमारी थापा, तुल्सीप्रसाद चौधरी, युवराज खनाल, नारायणप्रसाद आचार्य, रमा घर्ती मगर, डा. पूरन आचार्य, धर्मबहादुर लाल श्रीवास्तवा, विष्णु प्रसाद पन्थी, फौजिया मियाँ रहेका छन्।

More News last news
Loading...