अमेरिका । अमेरिकाले विदेशबाट आएका विद्यार्थीलाई दुई वर्षभन्दा लामो भिसा नदिने कानुन ल्याउने तयारी गरेको छ । वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले यससम्बन्धी प्रस्ताव तयार पारेको बुझिएको छ।
यद्यपि आगामी नोभेम्बरपछि ट्रम्पको दोस्रो कार्यकाल नभएको खण्डमा यस्तो योजना तुहिनसक्ने बताइन्छ । ट्रम्प प्रशासनले नेपाल लगायत विभिन्न ५९ देशका विद्यार्थीका लागि यस्तो कानुन मार्फत कडाइ गर्न लागेको हो।
अमेरिकाको होमल्यान्ड सेक्युरिटी विभागले बिहीबार विज्ञप्ति जारी गर्दै विद्यार्थीको भर्ना अवधिको संरचनालाई परिवर्तन गर्न प्रस्ताव राखेको थियो । जहाँ एफ, जे र आई समूहको गैरआवसीय भिसा भएका विद्यार्थीलाई यस्तो कानुन ल्याउने प्रस्ताव ल्याएको हो।
ट्रम्पले यसअघि नै आप्रवासीका लागि विभिन्न कानुनको सहायताबाट कडाइ गर्ने नीति अवलम्बन गर्दैआएका छन्। सार्वजनिक सभामा समेत उनले खुलेरै आप्रवासी प्रति कडाइ गरिने अभिव्यक्ति दिएका थिए। आप्रवासीकै कारण देशमा असुरक्षा, ठगी र आपराधिक गतिविधि बढेको उनको विश्वास छ।
विद्यार्थी भिसा सकिएपछि पनि विभिन्न वाहनामा अमेरिकामै बस्ने देशका नागरिकहरुको सूचीमा नेपालीलाई पनि राखिएको छ। सोही अनुरुप नेपालीका लागि पनि कडाइ गरिएको हो। नेपालसहित इरान, अफगानिस्तान, भियतनाम, फिलिपिन्स, उत्तर कोरिया लगायत देशलाई उक्त सूचीमा राखिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
