काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणका कर्मचारीले औपचारिक बिदाइ गरेका छन्।
आइतबार ४ वर्षे कार्यकाल सकाएका घिसिङलाई मंगलबार एक कार्यक्रमकाबीच कर्मचारीले विदाइ गरेका हुन्।
विदाइ कार्यक्रममा बोल्दै कुलमानले नेतृत्वमा कोही आउन-जानु समान्य प्रक्रिया भएको बताए ।
कर्मचारीले प्राधिकरणमा रातको १०–१२ बजेसम्म पनि काम गर्नुपरेको स्मरण गर्दै उनले टिमले काम गर्न सकेकै कारण राम्रो नतिजा आएको उल्लेख गरे।
उनले सरकार र राजनीतिक नेतृत्वको मार्गदर्शन अनुरुप प्राधिकरणको टिमले काम गर्दा सफलता पाएको बताए ।
२०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिँदै गर्दा अब प्राधिकरणमा अबको प्रमुखका रुपमा को आउँछन् भन्ने टुंगिएको छैन ।
अब अर्को कार्यकलका लागि नियुक्त भए मात्रै उनी प्राधिकरण फर्किनेछन्। तर, उनको पुननियुक्ति गर्न प्रधानमन्त्री केपी शर्मा ओली तयार नभएको स्रोतको दाबी छ।
२०५१ सालमा सातौँ तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका थिए ।
उनले पहिलो कार्यकालमा १८ घण्टासम्मको लोडसेडिङ हटाएर प्राधिकरणलाई ३४ अर्ब सञ्चित नोक्सानीबाट ५ अर्बको सञ्चित नाफामा लगेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
