काठमाडौँ । सरकारका प्रवक्ता युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति दिनेबारे मन्त्रिपरिषद् बैठकमा कुनै छलफल नभएको प्रष्ट पारेका छन्। उनले सामाजिक सञ्जालमा आएका खबरबारे सरकारलाई जानकारी नभएको पनि बताए ।
मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बिहीबार कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि जिम्मेवारी दिएकोबारे प्रष्ट पार्न सोधिकएको प्रश्नको जवाफ दिँदै अर्थ एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री खतिवडाले भने, ‘उहाँलाई सामाजिक सञ्जालले नै नियुक्त दिएको होला, सरकारले दिएको छैन। सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन ।’
खतिवडाले थपे, औपचारिक प्रस्ताव पनि थिएन। त्यससम्बन्धि छलफल पनि केही भएको छैन। सामाजिक सञ्जालमा आएका कुरा र केही सञ्चारमाध्यममा आएका कुरामा सत्यता नभएको उनको भनाइ थियो।
भदौ २९ गते कार्यकाल सकिन लागेका कुलमान घिसिङलाई फेरि नियुक्त गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमार्फत सरकारलाई दबाब आइरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
