आज गणेश चतुर्थी, विघ्नहर्ता भगवान गणेशको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ ।

सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादीलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिएकामा यस वर्ष काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण भक्तजनले पूजा आराधना गर्न सक्ने अवस्था छैन । यसैले घरमै गणेशको पूजा आराधना गर्नुपर्ने छ ।

Advertisement

शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । आज हरितालिका (तीज) को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ । बिहान हरितालिका (तीज) को व्रत समापनका लागि पारायण गरी मध्याह्नकालमा गणेशको पूजा आराधना गरी अघ्र्य दिनुपर्ने विधि रहेको धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । यस अवसरमा केही मानिसले भने गणेश चतुर्थीको व्रत समेत गर्छन् ।

मङ्गल चतुर्थीसमेत भनिने आजका दिनलाई नेवार समुदायले चथा पर्वका रूपमा मनाउँछन् । यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन रहेको छ । विसं २०६५ देखि यस पर्वका अवसरमा चतुर्थीको भोलिपल्ट राजाधानी लगायत मुख्य शहरमा गणेश रथयात्रा पनि शुरु भएको छ । यस वर्ष भने कोरोनाबाट बच्न जारी निषेधाज्ञा र बन्दाबन्दीका कारण रथयात्रा स्थगित गरिएको जनाइएको छ ।

More News last news
Loading...