उपत्यकामा बढी भाडा लिने र बढी यात्रु बोक्ने ५० वटा सवारीमाथि कारवाही

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा मात्रै आज बढी भाडा लिने र बढी यात्रु बोक्ने ५० वटा सवारी साधनमाथि कारवाही भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने १७ वटा र बढी यात्रु बोक्ने ३३ वटा सार्वजनिक सवारी साधनलाई आज ट्राफिक प्रहरीले कारवाही गरेको हो । ट्राफिक प्रहरी आफैँ यात्रु बनेर कारवाही अभियान चलाएको महाशाखाले जनाएको छ।

तोकिएको संख्या भन्दा बढी यात्रु राख्ने ३३ वटा सार्वजनिक सवारी साधनलाई कारवाही गर्नुका साथै स्वास्थ्य मापदण्ड अनुसार नचलाइएका १,१५२ वटा सार्वजनिक सवारी साधनलाई सम्झाइवुझाई पनि गरेको छ।

Advertisement

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक बामदेव गौत्तमले सादा पोशाकमै ट्राफिक प्रहरी खटाएर बढी भाडा लिने र ५० प्रतिशत भन्दा बढी यात्रु राख्ने विरुद्ध कारवाही चलाएको जानकारी दिए।

“यात्रु ठगीका घटना रोक्नका साथै कोरोना संक्रमण रोकथामको लागि सामाजिक दुरी कायम गराउन तथा चालक र यात्रुले अनिवार्य मास्क, सेनिटाईजर लगाएको–नलगाएको र ५० प्रतिशत मात्र यात्रु राखे-नराखेको अनुगमन गर्ने विशेष अभियान चलाएको हो।”

उनले भने “ती सवारी चालकहरूलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ अनुसार तोकिएको जरिवाना गराईएको छ।”

प्रहरीले आफैँ यात्रु बनि निगरानी गरेर तथा गाडीबाट ओर्लिएका यात्रुसँग जानकारी लिएर उनीहरुलाई कारवाहीको दायरामा ल्याउने गरेको छ। यसका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले पीडित सहायता इकाईबाट सादा पोशाकमा ट्राफिक प्रहरीको टोलीलाई परिचालन गरेको छ।

महाशाखाले सार्वजनिक सवारी साधनले बढी भाडा लिएको, सामाजिक दुरी कायम नगरेको, स्वास्थ्य मापदण्ड पूरा नगरी चलाएको सुचना नजिकको ट्राफिक प्रहरी वा हटलाईन १०३ मा जानकारी गराउनु हुन पनि अनुरोध गरेको छ।

More News last news
Loading...