तीज गीतमा कोरोना सचेतना

– गोविन्द मरासिनी/नयाँपुस्ता  

काठमाडौं । हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा नयाँ–नयाँ तीज गीतहरु सार्बजनिक भईरहेका छन् । भाद्र शुक्ल तृतीयका दिन मनाईने यस पर्वमा गीतका माध्यमबाट दिदीबहिनीहरुको दुख सुख पोख्ने गरिन्छ । तीज आउन महिना भन्दा वढी भएपनि घरघरमा गीतहरु घन्किन थालिसकेका छन् । यस बर्ष भने विश्वभर नै फैलिएको कोरोना महामारीले नेपालमा पनि ठूलो असर पारेको छ । अन्य क्षेत्रहरुमा जस्तै कोभिड–१९ को त्रास र यसबाट जोगिनका लागि नेपालमा पनि बिशेषतः सर्तकर्ता अपनाईएको छ ।

Advertisement

अघिल्ला तीजमा जेठ महिनादेखि नै गीतहरु सार्बजनिक गर्ने गरिएपनि यस बर्ष भने कोरोना त्रास र लकडाउनका कारणले असारबाट गीतहरु सार्बजनिक भएका छन् । कोरोना त्रास र भिडभाड गर्न नपाउने सरकारी नियमका कारण धेरै गीत सुटिङ भएका छैनन् ।

सार्बजनिक भएका अधिकांश तीज गीतहरुले कोरोना भाइरस (कोभिड–१९) को सचेतना फैलाएका छन् । तीज गीतका गायक नै मानिने पशुपति शर्मा र सम्झना भण्डारीले व्यङग्यात्मक शैलीमा ‘कोरोनाले रोक्यो झ्याप्पै’ बोलको सार्बजनिक गीत सार्बजनिक गरेका छन् । कोरोनाका कारण आफ्नी बहिनीलाई लिन जान नपाएको भन्दै व्यग्यात्मक शैलीमा गीत सार्बजनिक गरेका हुन् ।

सर्जक एवं चर्चित गायक सन्तोष के.सी. को तीज गीत ‘बुवा आमा’ बोलको गीतले पनि शहरमा बस्ने भाई, बुहारी गाउँमा फर्केर बसेपछि परिवारमा उत्पन्न द्धन्द्धलाई गीतमा उतारेका छन् ।

बिशेषतः तीजमा फरक ‘प्याटन’ का गीतहरु सिर्जना गरेर चर्चा कमाएका दुर्गेश थापाले आफ्नो तीज गीत ‘बीचबीचमा–२ एउटा फोटो खिच’ मा पनि कोरोना कहिले जाने होला भन्ने बिषयलाई उठान गरेका छन् । थापाले कोरोना कारण गरिएको लकडाउनले उत्पन्न गराएका विविध समस्याहरुबारेमा पनि उठान गरेका छन् । थापाकै ‘बीचबीचमा–३ बेसार’ मा कोरोना बिषयमै चर्चा गरेका छन् । बसन्त थापाको शब्द, संगीत रहेको गीतले कोरोनासँगै सरकारका विविध बिषयलाई व्यग्यांत्मक शैलीमा चर्चा गरेका छन् ।

कोरोना त्रासका कारण विदेशमा रोजगारी खोसिएर आफ्नो जन्मथलो फर्किएका नेपाली दाजु भाई एवं दिदीबहिनीहरुलाई गाउँ घरमा हुने अपहेलनाका बिषयहरुमा पनि गीतको सिर्जना गरिएका छन् । नेत्र अर्यालको शब्दमा सार्बजनिक भएको पुरुषोत्तम पौडेल, शर्मिला गुरुङ, खेम सेन्चुरी र देवी घर्तीको स्वर रहेको गीतले ‘महामारी काण्ड’ का यस्तै बिषयबस्तु समेटिएको छ ।

विदेशमा रोजगारी गुमेपछि कोरोना त्रासकै बीचमा गाउँमा फर्केका आफ्ना छोरा एवं श्रीमानलाई पनि क्वारेन्टाइनमा बस्नुपर्ने भन्ने सुझाव दिन खोजेको छ । प्रवासबाट आएका आफ्ना आफन्तलाई तत्कालै भेट्न नपाएपनि केहि दिन छुट्टै बस्नु उचित हुने सन्देश उक्त गीतको रहेको छ ।

मोहन खड्का र सन्ध्या वुढा (काउली वुढी) को व्याटल तीज गीत ‘बालै फरर’ मा कोरोना त्रासले तीजमा खुलेर नाच्न पनि नपाईने भन्दै गुनासो पोखेका छन् । तीजमा सबै जना जम्मा भएर नाच्ने गरेपनि यस पटक कोरोना त्रासले गर्दा नाच्न नपाइने भाव गीतमा प्रस्तुत गरिएको छ ।

रामजी खाँण र देवी घर्ती मगरले पनि यस बर्षको आफ्नो तीज गीतमा माइत आउन नपाएकी बहिनीलाई सम्झाएका छन् । कोरोना महामारीका कारण घरमै बसेर नाच्न र रमाईलो गर्नका लागि खाणँले आफ्नो गीतमार्फत सचेतना फैलाएका हुन् । यसपालीको तीजमा कतै नजान र घरमै गीत बजाएर आफ्नो परिवारसँग तीज मनाउन आग्रह गरिएको छ । यसो गर्दा माईती र चेली दुबै सुरक्षित हुने गीतले सन्देश दिन खोजेको छ ।

निर्मला सुवेदीको शब्द रहेको ‘दिदी भाई’ को गन्धनले तीजमा लिन जान नपाएको र बन्दाबन्दीले माईती जान नपाएको पीडा पोखिएको छ । राधिका हमाल र राजेन्द्र कडेलको स्वर रहेको गीतले तीजमा कोरोना त्रासले मारमा पारेको भन्दै क्वारेन्टाइनमा बसेको भाइले दिदी लिन जान नपाएको गुनासो पनि गीतमा छ ।

कोरोना त्रासमा औषधी नभेटिएको सन्दर्भमा बेसार पानीले इम्युनिटी पावर वढाउने बिषय उठिरहेका बेलामा यस्तै बिषयबस्तुलाई व्यग्यात्मक शैलीमा प्रस्तुत गरेर पनि गीतको सिर्जन गरिएको छ । ललित केसी र रिता के.सी.ले ‘बेसार पानी’ बोलको गीत प्रस्तुत गरेका छन् ।

उनीहरुले व्यङग्य शैलीमा बेसार पानीले फाइदा गर्ने र बाहिर हिड्दा मास्क लगाउनुपर्ने सन्देश दिन खोजेको छ । यी बाहेक यस बर्ष सार्बजनिक भएका प्रायः जसो गीतहरुले दिदी बहिनीको पीडा, दर खाने, ब्रत बस्ने, दाजु भाइसँगको सम्बन्धका बिषयबस्तु बाहेक कोरोना भाइरसको सचेतना र यसले चाडपर्वमा पार्ने प्रभावका बारेमा पनि मुल रुपमा उठान गरेका छन् ।

यस्तै, नवगायक धुब्र शर्मा र चर्चित गायिका सम्झना भण्डारीको ‘बारुली कम्मर’ मा कोरोना त्रासले माईती जान नपाए पनि घरमै बसेर रमाईलो गर्नुपर्ने भाव प्रस्तुत गरेका छन् । घरमै बसेर नाच्न रमाईलो गर्न र बारुले कम्मर भाच्न सल्लाह दिएका छन् ।

बिशेषतः गीत संगीतले कुनै न कुनै बिषयसँग जोडेर गीतको सिर्जना गर्ने गरिन्छ । यस बर्ष कोरोना महामारीले विश्व नै आक्रान्त बनेको बिषयमा चेलीका बिषयबस्तु त छदै छन् कोरोना त्रासमा चेलीका पीडा पनि जोडेर गीतहरु सार्बजनिक भएको गायक एवं सर्जक सन्तोष के.सी. बताउँछन् ।

समाजमा तीजका गीतहरु सुन्दा नै पनि कोरोनाबाट जोगिनका लागि पनि केहि सचेतना फैलियोस् भने कलाकारहरुले यसो गरेको उनको बुझाई छ । कलाकार पनि समाज र राष्ट्रको गहना पनि मानिन्छ कलाकारलाई गीतको माध्यमबाट सचेतना दिनका लागि कलाकारका तीज गीतलाई पनि महत्वपूर्ण मान्न सकिन्छ ।

More News last news
Loading...