श्रीमानको प्रहारले टाउकोमा २० टाँका, दाहिने भाग प्यारालाइसिस, बोली गुम्यो

नेपालगञ्ज । मुरी भित्र्याउने आशामा मानो रोप्ने महिना । स्वाभाविक हो, असारको महिना किसानलाई रोपाईंको चटारो हुन्छ । असार १३ गते शनिबार नेपालगञ्जको खजुरा गाविस वडा नम्बर– ३ धौलागिरी गाउँ निवासी ४० वर्षीया लिला बुढाथोकी (मगर) पनि रोपाईंका लागि धानको बिउ उखेल्न गएकी थिइन् ।

त्यही मानो रोपेर मुरी भित्र्याउने आशामा कर्म गरिरहेकी उनलाई केही घण्टापछि आफू जीवन–मरणको दोसाँधमा पु-याइदिने हमला हुन्छ भन्ने छनक नै थिएन। अन्यथा उनी श्रीमान् चेतबहादुर थापाले ‘सानो काम छ, घर आइजो’ भनेर बोलाउँदा गरिराखेको काम छोडेर किन जान्थिन् होला र ?

Advertisement

दिउँसो करिब २ बजे । श्रीमती घरमा आउने बित्तिकै चेतबहादुरले तथानाम गालीगलौज गर्न थाले । लिला केही नबोली टाउको दुख्यो भनेर सुत्न खोजिन्। रिसले रन्थनिएका चेतबहादुरले काठ चिर्दा प्रयोग गर्ने बसुलाले श्रीमतीको टाउकोमा दुई पटक प्रहार गरे र आत्महत्या गर्छु भन्दै अर्को कोठामा गए।

आमा रगतले लत्पत्तिएको देखेपछि छोरी आत्तिइन् र चिच्याइन् । खेतमा काम गरिरहेका अन्य व्यक्तिले सुने र तत्काल पुगे । सानो डोरीको सहारामा झुण्डिन प्रयास गरिरहेका चेतबहादुरलाई जोगाउनतिर कोही लागे भने कोही रगतको आहालमा भएकी लिलापट्टी लागे ।

लिलालाई मोटरसाइकलमा राखेर खजुराको एउटा मेडिकल लगियो । सामान्य उपचारपछि एम्बुलेन्स बोलाएर नेपालगञ्जको भेरी अस्पताल पु-याइयो । भेरी अस्पतालमा आइसीयू खाली थिएन । तसर्थ कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज रिफर गरियो । भोलिपल्ट अर्थात् १४ असारमा लिलाको शल्यक्रिया गरियो । टाउकोमा २० टाँका लगाइए ।

लिलाले २१ वर्ष अघि चेतबहादुरसँग प्रेम विवाह गरेकी थिइन् । सुरुमा त सम्बन्ध सुमधुर रह्यो । विवाह गरेको एक वर्षपछि छोरा जन्मिए । त्यसको चार वर्षपछि छोरी जन्मिइन् । छोरी जन्मिएपछि नै हो, लिलामाथिको घरेलु हिंसा अरुले पनि देख्न थालेको ।

श्रीमानको व्यवहारले आजित बनेकी लिलाले सुरुसुरुमा छोराछोरी सानै छन् भनेर श्रीमानसँग छुट्टिने आँट गरिनन् । त्यसैले चुप लागेरै घरेलु हिंसा सहिन् । खजुरा ३ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय, खजुरामा शिक्षिकाको रुपमा कार्यरत उनलाई आफ्नै श्रीमानले सोही स्कुलका शिक्षकसँग हिमचिम गरेको आरोपमा पछिल्लो समय शारीरिक तथा मानसिक यातना दिँदै आएका थिए ।

करिब एक वर्षअघि दोस्रो विवाह गरेका श्रीमान्ले कहिले कुट्न नछोडेका कारण उनीविरुद्ध लिलाले घरेलु हिंसाको मुद्दा दर्ता गरेकी थिइन् करिब ६–७ महिनाअघि ।  प्रहरीले पक्राउ गर्छन् भनेर लिलाका श्रीमान् कान्छी श्रीमती लिएर गाउँबाट भागेका थिए । त्यसको एक महिनापछि उनी एक्लै गाउँ फर्किए । त्यतिबेला घरमा छिर्नेबित्तिकै ‘स्कूलको शिक्षकसँग लागिस् ?, किन मुद्दा हालिस् ? ’ भनेर कुटपिट गर्दै मोबाइलसमेत फुटाइदिएका थिए ।

यसबारे प्रहरीलाई जानकारी दिइयो । प्रहरीले उनलाई पक्राउ गर्यो ।  सोधपुछ गर्दै गर्दा चेतबहादुर ढले । प्रहरीले तत्काल अस्पताल लान सुझायो । चेतबहादुरका आफन्तले लिलालाई मुद्दा नहाल्न आग्रह गरे । त्यसपछि उनी पुनः गाउँबाट हराए । लकडाउन हुनु दुईचार दिन अघिमात्रै उनी घरमा आएका थिए ।

असार १३ गतेको घटनापछि प्रहरीले चेतबहादुरलाई पक्राउ गरेको छ । श्रीमती आफैंले पढाउने स्कूलको शिक्षकसँग लागेको हुँदा सम्झाउने क्रममा नमानेको र रिसको झोंकमा प्रहार गरेको उनले प्रहरीसमक्ष बताएका छन्। बात लगाइएका ती शिक्षकले आत्महत्या गरेका छन्।

लिला अहिले खतरामुक्त छिन्। तर अब उनको शरीरको दाहिने पाटो चल्दैन, अर्थात् प्यारालाइसिस भएको छ । बोली गुमेको छ । घरको आर्थिक स्थिति नाजुक छ। अहिलेसम्म साढे दुई लाख बढी खर्च भइसक्यो । तीमध्ये केही रकम आफन्तले सहयोग गरेका छन्।

उनको परिवारले सहयोगका लागि अपिल समेत गरेका छन्। यसका लागि नेपाल इन्भेस्टमेन्ट बैंक पुतलीसडक शाखाको खाता नम्बर ०१२०५०८०३७९२३६ मार्फत सहयोग पनि गर्न सक्नुहुनेछ।

More News last news
Loading...